काठमाडौं- नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय छन् गायक/संगीतकार कस्तुप पन्त। नेपाली सुगम संगीत र लोकसंगीतमा उनले कयौं हिट गीत दिइसके। ‘क्याची वर्ड’ उनका गीतका विशेषता हुन्। कालिगण्डकीको सेरोफेरोमा भेटिने मौलिकता उनको गीतका आधार हुन्।
‘मेरो गीतको प्रेरणा, कालिगण्डकीको सुगन्ध र मौलिकता हो’, उनले कुराकानीका क्रममा भने। प्रेम, मिलन र बिछोडमा भाव उनका गीतमा पाइन्छन्। ‘फूलको थुङ्गामा’, ‘धोका दिनेलाई के भनौं र खोइ’ ‘मधुबनैमा’, बिर्सियौंकी कुन्नि’, ‘जिन्दगी पानीको फोका’ लगायत उनका दर्जनौँ लोकगीत हिट भएका छन्।
हालै राष्ट्रपतिबाट प्रबल जनसेवाश्री पदकले विभूषित भएका कस्तुपले २०६४ सालमा सारथि म्युजिक प्रालि खोलेर थुप्रै गीति क्यासेट निकालेका थिए। नेपाली लोक संगीतमा उनले हजार गीत सृजना गरेका छन् भने तीन सय भन्दा बढी आधुनिक गीत सृजना गरेका छन्।
अन्जु पन्त, प्रमोद खरेल र भारतीय गायिका सञ्जिविनीले गाएका गीतहरू बढी हिट छन्। ‘मेरो मनको ढुकढुकीमा’, ‘धोका दिने तिमीलाई’, ‘मेरो मनको मान्छे तिमी’, ‘माया गर्छु तिमीलाई’, ‘झुटो रहेछ यो संसार’ जस्ता आधुनिक गीत हिट छन्। साठीका दशकमा व्यावसायिक गीत सृजना गर्नेमा कस्तुप पनि अग्रस्थानमा पर्थे।
पर्वत फलेवास स्थायी घर भएका कस्तुपले थुप्रै लोकगीतमा अभिनय गरेका थिए। हालै सार्वजनिक भएको आधुनिक गीत ‘दुबो जस्तै हाम्रो माया’ बोलको गीतमा उनले मोडलिङ गरेका छन्। पहिलोपटक आधुनिक गीतमा उनले अभिनय गरेका हुन्। मोडलिङमा उनलाई साथ दिएकी छिन् मोडल एलिसा बास्तोलाले।
नेपाली सांगीतिक क्षेत्रका बहुप्रतिभाशाली व्यक्ति कस्तुपकै शब्द तथा संगीत रहेको यो गीतलाई स्वर दिएकी छिन् लोकप्रिय गायिका अन्जु पन्तले। मायाप्रेमलाई मुख्य विषय बनाएर तयार पारिएको गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन विनोद बमको रहेको छ।