मौसम सधैँ एकनास हुँदैन। मौसम परिवर्तन हुनु असामान्य पनि होइन। तर जलवायुमा पछिल्लो समय आएको परिवर्तनका कारण जनजीवन र पर्यावरणमा बढी क्षति पुग्न थालेको छ। भूगोलअनुसार मौसम परिवर्तनको असर कमबढी हुने पनि गर्छ।
प्रकृति र मानवबीच गहिरो सम्बन्ध छ। प्रकृतिकै देनका कारण मानव सभ्यताले विभिन्न अप्ठेराका बाबजुध पनि अस्तित्व रक्षा गर्दै आएको छ। तर कतिपय मानवीय क्रियाकलाप भने प्रकृतिका लागि प्रतिकूल भएका छन्। प्रतिकूल प्रकृतिका कारण सिर्जना भएका अप्ठ्याराहरू मानव जातिका लागि मात्र सीमित छैनन्, पर्यावरण र जीवजन्तुले पनि त्यसको मार खेप्नुपरेको छ।
विश्वकै उच्च हिमशृंखला नेपालमा पर्छन्। हिमाली क्षेत्रमा गरिएका अध्ययनका अनुसार यहाँ सामान्यभन्दा ३ गुणा बढीको दरमा तापक्रम बढिरहेको छ। सामान्यतया ०.०२ डिग्री सेल्सियसका दरले बढ्नुपर्ने यस भेगको तापक्रम अहिले ०.०६ डीग्री सेल्सियसका दरले बढेको अध्ययनले खुलाएको छ। यस्तो असामान्य तापक्रम वृद्धिका असर छर्लङ्गै देखिन थालेका छन्।