काठमाडौं- विदेशी पर्यटक आवागमन सहज तुल्याउनु पर्ने पर्यटन व्यवसायीले बताएका छन्। व्यवसायीले पर्यटक आवागमनमा अवरोध हुने किसिमका कुनै गतिविधि तथा निर्णय नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
अध्यागमन विभागले हालै जारी गरेको सूचनाले सेवा प्रवाहमा झन्झटिलो व्यवस्थापन देखिएको भन्दै पर्यटन क्षेत्रका अगुवा संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यसले नेपालप्रति नकारात्मक सन्देश जान सक्ने भन्दै तत्काल पर्यटक आगमनलाई सहज पुग्ने गरी काम अघि बढाउन माग गरेका हुन्।
कोभिड-१९ ले थला परेको पर्यटन व्यवसाय चलायमान हुन सुरु गरेको अवस्थामा अध्यागमन विभागले मिति २०७९ वैशाख ३ गते नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि 'अन अराइभल भिसा' शुल्क लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एटिएम मेसिनबाट डलर बराबरको नेपाली रुपैयाँ निकाल्न समस्या भएकाले नगद नै लिएर आउन सूचना जारी गरेको थियो।
यस किसिमको सामान्य कमजोरी सुधार गर्नुको सट्टा नेपाल भ्रमणमा आउने पर्यटकलाई नगद नै ल्याउनुपर्ने भन्ने झन्झटिलो व्यवस्थाले पर्यटकलाई नेपालप्रति थप नकारात्मक बनाउने तथा हाम्रो संरचनाप्रति विश्वासनीयतासमेत घटाउने व्यवसायीको भनाइ छ।
नेपाल आउने पर्यटकलाई प्रभावित गर्ने यस्ता सूचना बारम्बार छोटो समयमा जारी भइरहँदा पर्यटकलाई थप जटिलता थप्नेतर्फ सचेत रहन पनि व्यवसायीले अनुरोध गरेका छन्। यस किसिमको निर्णय गर्दा पर्यटन व्यवसायीको राष्ट्रिय संस्था तथा सरोकारवालासँग परामर्श नगरी गर्ने प्रचलनबाट पर्यटन व्यवसाय थप प्रभावित हुने हुँदा आगामी दिनमा यस्ता निर्णय गर्नुपूर्व सरोकारवालासँग आवश्यक परामर्श लिनसमेत आग्रह गरिएको छ।
साथै अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एटिएम मेसिन दुरुस्त सञ्चालन हुने व्यवस्था गर्न सम्बन्धित वाणिज्य बैंकहरूलाई निर्देशन दिन तथा ई–पेमेन्ट गेटवेमार्फत विदेशबाटै सहज भुक्तानीका लागि वातावरण बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक प्रबन्ध गर्न पनि व्यवसायीले माग गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र थप वाणिज्य बैंकहरूका एटिएम बुथ संख्या वृद्धि गर्न, आवश्यक व्यवस्था मिलाउनसमेत नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गरिएको छ।
त्यसैगरी नेपाल भ्रमण गर्ने पर्यटकका लागि ई-भिसा इस्यू गर्ने प्रबन्ध मिलाउन व्यवसायीले सरकारसमक्ष माग गरेका छन्। रासस
यसरी विज्ञप्ति जारी गर्नेमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स् (नाट्टा), होटल संघ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) रहेका छन्।