काठमाडौं– नेपाल समय मिडिया प्रालिको महाप्रबन्धकमा जीवन तिम्सिना नियुक्त भएका छन्। तिम्सिनालाई सोमबार सुरुचीमार्ग नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालयमा नेपाल समय मिडिया प्रालिका प्रबन्ध निर्देशक तरुणप्रताप शाह र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतले स्वागत गरेका थिए।
सो अवसरमा प्रबन्ध निर्देशक शाहले अनलाइन मिडिया प्रतिस्पर्धी बन्दै गइरहेको बताउँदै नयाँ नयाँ चुनौतीका साथ काम गर्नुपर्ने अवस्था आएको बताए। संस्थाको उन्नतिमा टिम वर्कको महत्वपूर्ण भूमिका हुने भन्दै उनले कार्यस्थलको वातावरण सहज बनाउन तथा प्रतिस्पर्धी रुपमा सेवासुविधा उपलब्ध गराउन व्यवस्थापन सधैं तयार रहने प्रतिबद्धता जनाए।
प्रधान सम्पादक नारायण अमृतले संस्थाको उन्नयनमा भूमिका खेल्ने विभिन्न पक्षहरुको बारेमा चर्चा गर्दै न्युजरुमको व्यावसायिकतामा जोड दिए।
नवनियुक्त महाप्रबन्धक तिम्सिनाले बजार प्रतिस्पर्धी बन्दै गएको भन्दै लगानीकर्ता, प्रशासन र सम्पादकीय टिमको सहकार्यमा जोड दिए।
सो अवसरमा मार्केटिङ म्यानेजर चारु श्रेष्ठ र मार्केटिङ अफिसर दिनेशराज सुवेदीका साथै सम्पादकीय विभागमा जोडिएका सदस्यहरुलाई पनि स्वागत गरिएको थियो।