कञ्चनपुर- कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ।
मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि उत्पादनमा समेत कमी आएको हो। कञ्चनपुर मण्डी व्यवसायी संघका पूर्वअध्यक्ष तर्कराज भट्टले स्थानीय तरकारी फर्सी, लौकी, भन्टा मण्डीमा आए पनि अन्य तरकारी भने भारतीय बजारबाट आयात भइरहेको बताए।
उनले भारतबाट टमाटर आउँदै सिमलामिर्च, प्याज, आलु, बोडी, भिन्डी, काजरलगायतको तरकारी नियमित आयात भइरहेको बताए। 'फागुनसम्म चिसो र एक्कासि गर्मी बढेपछि किसानले लगाएको टमाटर खेतीमा क्षति धेरै भयो।' उनले भने, 'विगतको भन्दा यस वर्ष स्थानीय उत्पादन बजारसम्म कमै आयो।'
त्यसैगरी गड्डाचौकी हुँदै आयात गरिने तरकारी कैलालीको अत्तरीयास्थित मण्डीमा रहेको प्रयोगशालामा स्याम्पल जाँच हुने गरेको भट्टको भनाइ छ।
यता भीमदत्त नगरपालिका–१९ बागफाटामा अढाइ बिघा खेतमा तरकारी खेती गर्दै आएको ख्यालीराम बर्माले यस वर्ष करिब १५ कट्ठामा लगाएको टमाटर पूर्णरुपले क्षति भएको बताए।
मण्डीमा अहिले लौकी, फर्सीको मूल्य घटे पनि अरु तरकारीको भने महँगो नै रहेको व्यापारीको भनाइ छ। महेन्द्रनगरस्थित मण्डीका तरकारी व्यापारी अनिलप्रसाद चौधरीले कागतीको मूल्य बढेको बताए।