काठमाडौं- अबका तीन दिनसम्म नेपालको तराईसहितका विभिन्न स्थानमा तापक्रम बढ्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा तापक्रम वृद्धि हुने र बुधबारदेखि घट्न सक्ने बताएका हुन्।
केही दिनयता तापक्रम वृद्धि भइरहेको उल्लेख गर्दै उनले अझै केही दिन तापक्रमको वृद्धि कायम रहने उल्लेख गरे। नेपालमाथिको आकाशमा उच्चचापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम वृद्धि भएको उनको भनाइ छ। बिहीबारदेखि भने उच्चचापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले तापक्रममा घट्न सक्ने वरिष्ठ मौसमविद् प्रधानाङ्गको अनुमान छ।
'विगत केही दिनदेखि नेपालको विभिन्न स्थानहरुमा तापक्रम बढ्ने क्रममा देखिएको छ। यसको मुख्य कारण चाहिँ नेपालको माथिल्लो वायु मण्डलमा उच्चचापीय प्रणालीको प्रभाव रहेको देखिन्छ। केही दिनपछि उक्त उच्चचापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले आगामी तिन/चार दिनपछि नेपालको भूभागहरुमा तापक्रममा कमी आउने सम्भावना देखिएको छ,' मौसमविद् प्रधानांगले भने।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा फेरी तापक्रम वृद्धि हुने सम्भावना रहेको समेत उनले बताए। उनले तराई क्षेत्रमा भने बढी नै तापक्रम वृद्धि हुने उल्लेख गरे। हाल तराईका केही स्थानहरुमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।
‘तापक्रम बढ्नुको मुख्य कारण एक त यो 'सिजनल इफेक्ट' पनि हो। अहिलेको मौसम नै तापक्रम बढ्ने क्रममा रहने हुन्छ। त्यो हुनाले पनि हो एउटा। अर्को कारण चाहीँ नेपालको वायु मण्डलमा उच्च चापीय प्रणाली हुन्छ। उच्च चापीय प्रणाली हुँदाखेरी आकाश खुल्ने सुर्यको किरण सिधै पुथ्वीको सतहमा पर्ने हुनाले सतह नजिकको वायु तातिने हुनाले यो समयमा वायुको तापक्रम बढ्ने हुन्छ। अधिकतम र न्युनतम ठाउँ अनुसार फरक हुन्छ,' प्रधानांगले भने, 'सामान्यतया आगामी तिन÷चार दिनसम्मको अवस्था हेर्दाखेरी तराईतिर अलि बढी नै हुने देखिन्छ। जस्तै अहिले ३८, ३९ को हाराहारीमा छ। थोरै स्थानहरुमा ४० पनि पुगेको देखिन्छ। यही क्रममा आगामी केही दिनमा हल्का बढ्ने सम्भावना रहेको देखिन्छ। पछि पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव आइसकेपछि उक्त तापक्रममा केही गिरावट आउने सम्भावना रहेको छ।’