काठमाडौं- नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति पत्रकार कपिल काफ्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उपप्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ।
पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धाताहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले इन्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको इञ्जा अध्यक्ष गुणराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा दर्शनाचार्य (एमफिल) को उपाधि हासिल गरी सोही विषयमा विद्यावारिधि गर्दै गरेका वरिष्ठ पत्रकार कपिल काफ्ले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक हुन्। उनी हाल नेपाल खुला विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन्।
यसैगरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा उपप्राध्यापकका देवराज अर्यालले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा राजनीतिक परिवर्तनमा मिडियाको भूमिकासम्बन्धी प्रश्नमा केन्द्रित भई विद्यावारिधि गरिरहेका छन्।
२०५३ सालदेखि चितवनको नारायणी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका अर्यालले २०५४ सालदेखि युगसंवाद साप्ताहिकको सम्वाददाता, सहसम्पादक हुँदै २०५९ सालदेखि २०६३ सालसम्म कार्यकारी सम्पादकको जिम्मेवारी बहन गरेका थिए।
माउण्टेन टेलिभिजनमा २०७३ देखि २०७४ सालसम्म समाचार सम्पादकको रुपमा कार्य गरेका अर्याल नेपाल पत्रकार महासंघको राष्ट्रिय परिषद् सदस्य समेत रहेका थिए। अमेरिकाको राजधानी वाशिङ्गटनमा मुख्यालय रहेको इञ्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्तिको राशी जनही पाँच सय अमेरिकी डलर रहेको छ।
इन्टरनेसनल मनिटरी फन्डको उच्च पदमा पुगेर सेवा गरेका अर्थ विद स्व. डा सुखदेव शाहको संस्मरणमा ईन्जासँग सहकार्य गर्दै उनकी धर्मपत्नी श्रीमती विजया शाहले स्थापना गरेको अनुसन्धानवृत्ति कोष अन्तर्गत यो अनुसन्धानवृत्ति प्रदान गरिएको इन्जाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।