बुधबार, कात्तिक ११, २०८३

दमकबाट नेपथ्यको पुनरोदय

यस्तै माहोलका बीच टोलीसहित उपस्थित ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले नयाँ वर्षको शुभकामना प्रकट गर्दा दर्शक दीर्घाबाट चर्को आवाजका साथ स्वागत गरिएको थियो। अमृतले कन्सर्टको प्रारम्भ नै पूर्वी नेपालबाटै संकलित गीत ‘कोशीको पानी यो जिन्दगानी।।।’ बाट गरेका थिए। उक्त गीत उनले पैदल यात्राका क्रममा चैनपुरवासी पुराना लोकगीत साधक डिल्ले दमाइबाट संकलन गरेका थिए।
 |  शनिबार, वैशाख ३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३, २०७९

काठमाडौं- महामारीकालीन लामो विश्रामपछि नयाँ वर्षकै दिन नेपथ्यको पुनरोदय पूर्वको सहर दमकबाट भएको छ। एकपछि अर्को ‘लकडाउन’ले दुई वर्षसम्मै बिथोलिएको यो सहर बिहीबार फेरि जागेको देखिन्थ्यो। साँझ पर्दै गएपछि सरस्वती माध्यमिक विद्यालयको फराकिलो फुटबल मैदान पूर्वाञ्चलभरिबाट भेला भएका युवायुवतीले भरिएको थियो भने मञ्‍चबाट छरिएको उज्यालोका आभाले भुइँदेखि लिएर आकाशसम्मलाई चम्किलो बनाएको थियो।

यस्तै माहोलका बीच टोलीसहित उपस्थित ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले नयाँ वर्षको शुभकामना प्रकट गर्दा दर्शक दीर्घाबाट चर्को आवाजका साथ स्वागत गरिएको थियो। अमृतले कन्सर्टको प्रारम्भ नै पूर्वी नेपालबाटै संकलित गीत ‘कोशीको पानी यो जिन्दगानी।।।’ बाट गरेका थिए। उक्त गीत उनले पैदल यात्राका क्रममा चैनपुरवासी पुराना लोकगीत साधक डिल्ले दमाइबाट संकलन गरेका थिए। 

त्यसपछि लाङटाङ क्षेत्रबाट संकलन गरिएको ‘भेँडाको ऊनजस्तो’ हुँदै ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्‍यो’ अनि ‘जोमसोमे बजार’ले निरन्तरता दिउन्जेल मैदानका अधिकांश भागमा नृत्यरत तन्‍नेरीहरु देखा पर्न थालिसकेका थिए। मुलुकका फरक फरक भेगको प्रतिनिधित्व गर्ने यी गीतहरु प्रस्तुत गर्दाका क्रममा अमृतले उपस्थित श्रोता दर्शकलाई आफ्नो देश घुम्‍न र यसलाई बुझ्‍न अनुरोध पनि गरिरहेका थिए। चुनावको माहोलमा डुब्दै गरेको दमकमा उपस्थित दर्शकलाई उनले मतदानका निम्ति प्रोत्साहित गर्दै भविष्यका प्रति आशावादी हुन हौस्याए। मुलुकमा ब्याप्त बेथितिका चर्चा गर्नुका साथै नयाँ वर्षसँगै सकारात्मक सोचको विकास गर्न आव्हान पनि गरे।

करिब दुई दशकअघि ‘शान्तिको लागि शिक्षा’ अभियानका साथ नेपथ्य दमकमा उपस्थित हुँदा व्यवस्थित होटल समेत नपाइएको यो शहरको हेर्दाहेर्दै कायाकल्प भएकामा उनले खुशी प्रकट गरे। त्यतिबेला कन्सर्टबाट उठेको रकमले शहरकै उत्तरी कुनामा रहेको हिमालय माध्यमिक विद्यालयको भवन निर्माणमा सघाउने काम गरिएको थियो।

‘मै मरि जाउँला’, ‘शिरफूल शिरैमा’, ‘जोगले हुन्छ भेट’, ‘आँगनै भरि’ देखि ‘यो जिन्दगानी’ सम्म एकपछि अर्को सर्वकालीक हिट गीत सुनाउँदाकै क्रममा बाह्रौ गीतको पालो आउँदा भने माहोलमा नयाँ तरंग फैलियो। त्यतिबेला नेपथ्यले कन्सर्टका दर्शकहरुलाई आफ्नो नयाँ गीत सुनाउने जमर्को कसेको थियोः

‘लेकैको लालीगुराँस, काली काली केशलाई

साइँली मोरीलाई

पाखैको चिसो बतास, डाली डाली फूललाई

साइँली मोरीलाई’

गीतकार मन्जुलले १९ वर्षकै उमेरमा रचना गरेको यो गीति कविता पछि पुस्तकका रुपमा पनि प्रकाशित भयो। ‘पुस्तक पढ्दैगर्दा यो कविताले मलाइ मोहित पारेको थियो,’ अमृत भन्छन्, ‘बारंबार पढेकाले कविता कण्ठस्थै थियो।’ तर, उक्त कवितालाई गीतमा ढाल्ने काम भने अमृतले निकै पछि गरेका रहेछन्।

‘झण्डै एक दशकअघि म पैदल यात्रा गर्दै पूर्वतर्फ लाग्दा एउटा दृश्यले मलाइ भित्रैदेखि रोमाञ्चित बनाएको थियो,’ उनी भन्छन्, ‘ओखलढुँगाको कोष भञ्ज्याङमा हिँड्दा हिँड्दै उत्पन्न त्यो रोमाञ्चकताले नै मलाई त्यस पुरानो कविताको सम्झना गराइदियो।’

अमृतका अनुसार त्यस दिन भर्खर विहे गरेर आएको एउटा जोडी केहि छिनको निम्ति सहयात्री बन्न पुगेका थिए। उनले त्यस जोडीको तस्बिर खिच्न खोजे। तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे। बेहुली पहिरनमा रंगीएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो।

‘त्यो दृश्यले मलाइ यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘त्यसको दुइ तिन दिनमै दिक्तेलतर्फ उक्लँदै गर्दा लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले त्यस कवितालाई संगीतबद्ध पारेको हुँ।’

गीतको अर्को अन्तरा अलिक बेग्लै सुनिन्छः

‘कलकले पानीको छलछले छाँगा

छाँगाले पारेको चिसो सियाल

साइँली मोरीलाई’

अमृतका अनुसार त्यो अन्तरालाई खोटाङको निर्मली भञ्ज्याङबाट भोजपुरको चखेवातर्फ उक्लँदै गर्दा बाटोमा पर्ने झरना देखेपछि संगीतवद्ध गरिएको थियो।

‘यसरी दशक अगाडि पूर्वाञ्चलको पैदल यात्रामा तयार पारेको गीतलाई मैले नयाँ परिवेशसहित सुरुभएको नयाँ वर्षकै दिन पारेर पूर्वाञ्चलकै कन्सर्टमा कोसेलीस्वरुप पहिलोपटक प्रस्तुत गरेको हुँ,’ अमृतले स्पष्ट पारे।

जति रात पर्दैगयो उति रमाउँदै गएका दर्शकसामु त्यसपछि पनि नेपथ्यले लगातार ‘गाउँ गाउँबाट उठ’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेपछि बिदा लिएको थियो।

प्रकाशित: Apr 16, 2022| 16:40 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।