काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सीधा उडान गर्ने भएको छ।
वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ। कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सीधा उडान सुरू गर्न लागिएको जानकारी दिए।
'वैशाख ९ गतेदेखि निगमले रियाद गन्तव्यमा उडान सेवा सञ्चालन गर्दैछ यो निगमका लागि निकै गौरबको विषय हो, लामो प्रयासपछि निगमले साउदी अरेवियाका विभिन्न गन्तव्यमा पनि उडान अनुमति पाएको छ, शुरुमा रियाद र क्रमशः अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना छ,' कार्यकारी अध्यक्ष अधिकारीले भने।
निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो।
निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं-रियाद-काठमाडौं सातामा दुई उडान गर्नेछ। सातामा तीन दिन उडान गर्ने योजना रहे पनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएको छ।
एकतर्फी ३७ हजार भाडा
काठमाडौं-रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रूपैयाँ कायम गरिएको जनाइएको छ। निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताइन्।
निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी 'स्लट' पाएको छ। उद्घाटन उडान वाइडबडीबाट गरिने र पछि नियमित उडान पनि वाइडबडी जहाजमार्फत हुने उनले जानकारी दिइन्।
यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा 'इनफ्लाइट' खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन्।
काठमाडौं-रियाद एकतर्फी उडान अवधि ६ घण्टा १५ मिनेट र रियाद–काठमाडौं उडान अवधि ४ घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ। नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिक रुपमा लाभ हुन सक्ने अनुमान गरिएको छ। विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन्। अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ।
आठ देशका १० गन्तव्यमा उडान विस्तार
नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ। निगमले यसअघि भारतका तीनसहित सात देशका ९ गन्तव्यमा उडान भर्दै आएको थियो। निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्लालालम्पुर, हङ्कङ, बैंक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।
यसअघि साउदीमा हिमालय एयरलाइन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ। साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो। तर, जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन।
निगम लामो समयको प्रयासपछि रियादमा उडान भर्न सफल भएको र यो अवसर पाउँदा निगम निकै गौरवान्वित भएको जनाइएको छ। देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ।
कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताए। व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उनको भनाइ जियो। अन्य काममा पनि निगमभित्रका कर्मचारीहरुको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो। रासस