काठमाडौं– कैलालीका २५ वर्षिया युवा अरुण दासको हत्याको मूल कारण एउटा हराएको मोबाइल भएको पाइएको छ। हत्या आरोपमा फरार १० जनामध्ये महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई शुक्रबार सार्वजनिक गरेपछि यो रहस्य खुलेको हो।
गत पुस ३ गते कैलालीस्थित अमरावती सामुदायिक वनभित्र साजको रुखमा बाँधेर दासको विभत्स हत्या भएको थियो। मनोज भण्डारीको ग्याङले साँझको ६ बजेदेखि रातिको करिब १२ बजेसम्म लागू औषध (नाइट्राभेट टेन) सेवन गरेपछि उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए।
हत्या हुनुभन्दा तीन दिनअगाडि स्थानीय कमल साउदको मोबाइल हराएको थियो। त्यतिबेला कमलले मनोजका साथी सुमित साउदलाई मोबाइल चोरीको आरोप लगाउँदै कुटपिट गरेका थिए। ‘तर, मोबाइल चोर्नेचाहिँ अरुण रहेछन्। जब त्यो यथार्थ खुल्यो, त्यसपछि मनोजको ग्याङले अरुणलाई कुट्ने योजना बनाएका रहेछन्,’ महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर पुस २ गतेको रात जब लागु औषधको डोज बढ्दै गयो, त्यसपछि उनीहरुले कुटेर घाइते अवस्थामा रुखमा बाँधिएका अर्जुनलाई मार्ने निष्कर्षमा पुगेको देखियो। यस्तो निर्मम तरिकाले हत्या भएको छ कि तस्बिर हेर्न पनि डर लाग्छ।’
गत पुस ३ गते कैलालीस्थित अमरावती सामुदायिक वनभित्र साजको रुखमा बाँधेर दासको विभत्स हत्या भएको थियो।
हत्यामा संलग्न १० जना भनिए पनि घटना भएको चार महिना पुग्नै लाग्दा प्रहरीले चार जना पक्राउ गरेको हो। जसमा मुख्य अभियुक्त भण्डारीसहित बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने दिलिप दास छन्। उनीहरु सबैको घर कैलालीस्थित जानकी–९ मा हो। सबै १९ वर्षका हुन्।
घटनाका मुख्य अभियुक्त भनिएका भण्डारीले त प्रहरीलाई पक्राउको चुनौती नै दिइरहेका थिए। हत्यापछि अरुणले कैलालीमा रहेका एक साथीलाई फोन नै गरेर दासको हत्या ‘मैले गरेको’ भनेका थिए, जुन अडियो बाहिर पनि सार्वजनिक भएको थियो। त्यतिमात्रै होइन उनले ‘हामी हत्यारा हौं पक्राउ गरेर देखा’ भनेर भारतको मुम्बईबाट भिडियो नै खिचेर सार्वजनिक गरेका थिए।
घटनामा संलग्न भनिएका बादल विक, विवेक सिंह, कनकलाल विक, करण दर्नाल लगायत साथीहरु अझै फरार नै छन्। उनीहरुको पनि खोजी भइरहेको एसपी कोइरालाले जानकारी दिए।
अर्जुनको हत्या योजना कसरी बन्यो, शुक्रबार महाशाखामा आयोजना गरिएको प्रेस मिटमा मुख्य अभियुक्त मनोज भण्डारीले घटनाको विस्तृत कथा नै सुनाएका थिए। पढौं, उनले त्यहाँ दिएको ‘बयान’ जस्ताको त्यस्तैः
अर्जुन दास, कमल साउदको घरमा सँगै काम गर्ने गर्थ्याे। बिहान १० बजे आउने गर्थ्याे। कमलको मोबाइल अर्जुनले बिहानै चोरी गरेको थियो। तर, कमलले साथी सुमित साउदप्रति शंका गर्यो।
अर्जुन दास सँगै काममा आउने भएकाले उसलाई शंका गरेन कमलले। अर्जुनले चाहिँ मोबाइल चोरेर घर नजिकैको एउटा सानो भाइ (हर्के भाट)लाई राख्न दिएको रैछ, सिम भाँचेर। त्यो कुरा सुमितले चोरेको एक दिनपछि थाहा पायो।
सुमितलाई कमलले चोरी गरेको आरोप लगाउँदै पिटेको थियो। तीन–चार झापड हानेको थियो। ‘मेरो मोबाइल चोरिस्, केस गर्दिन्छु तँलाई’ भन्दै टर्चर दिएको थियो।
कमलले ‘नाइट्राभेट टेन’ (लागुऔषध) पनि सेवन गर्ने गथ्र्यो। सुमितलाई विना कारण कुटेको निहुँमा हामीले उसको २५ हजार बराबरको नाइट्राभेट टेन उठाइदिएका थियौं। मोबाइल पनि रिटर्न गरिदिएका थियौं।
तर, यो सबै घटनाको मूल कारण त अर्जुन दास थियो। उसले मोबाइल चोरेकै कारण साथी सुमितले कुटाइ खाएको थियो। त्यसैले हामीलाई प्लान बनायौं– अब अर्जुनलाई कुट्नुपर्छ, बदला त लिनैपर्छ।
सामुदायिक वनमा हाम्रो लागू औषध सेवन गर्ने नियमित ‘जक्सन’ थियो। त्यहाँ सधैँजसो केटाहरु खान आउने गर्थे। पुस १० गते साँझ हामी १० जनाजति खानलाई त्यहाँ भेला भएका थियौं। अर्जुन पनि त्यहीँ थियो। हामीहरु सधैँ सँगै घुम्ने, सँगै खाने मान्छे हौं। त्यतिबेला खाइरहेकै बेला हामीले कुरा उप्कायौं। उसलाई सोध्यौं– मोबाइल किन चोरेको थिइस्?
सुरुमा उसलाई लाग्यो, हामी कसैलाई केही थाहै छैन। तर, सुमितले ‘झुट नबोल, मैले सबैलाई भन्देको छु’ भनेपछि उ चुप लाग्यो। त्यसपछि हामीले उसलाई पिट्न थाल्यौं। तर, त्यतिखेरसम्म हाम्रो मार्ने सार्ने केही प्लान थिएन।
कुटिसकेपछि उसलाई रुखमा बाँधेर राख्यौं। त्यसपछि फेरि खान थाल्यौं। साँझको ६ बजेदेखि लगभग १२ बजेसम्म खायौं। त्यसपछि हामी सबैको योजना बन्यो– अब यसलाई मार्नुपर्छ।
तर, हतियार कसरी ल्याउने त? सोच्यौं। हाम्रो साथी थियो, शुशिल मयाल। उसको घर नजिकै थियो। उसले आफ्नो घरबाट खुकुरी ल्याएर दियो। तर, उचाहिँ घर नै फर्कियो।
त्यसपछि करिब २ बजेतिर उसलाई बाँधेर उसको घाटी छिनाल्यौं ३ जनाले। सुरुमा मैले नै हानेको थिएँ। त्यसपछि दिलिप दासले हान्यो, अनि सुमित साउदले। हामी त्यसपछि त्यहीँ सुत्यौं, आगो बालेर।
त्यतिखेर के गर्यौं, के गरेनौं, हामीलाई केही मतलब थिएन। दुई जना साथीहरु सुतेकै थिएनन्, बिहान साढे ४ बजेतिर उनीहरुले हामीलाई उठाए। उठाएपछि थाहा भयो, हामीले त मान्छे मारेछौं।
त्यसपछि मन आत्तियो। डराउन थाल्यौं। मसँग खल्तीमा सात आठ हजार रुपिँया थियो। काठमाडौंमा पढ्न भनेर घरकाले पैसा दिएका थिए मलाई। त्यही पैसा लिएर हामी दिल्ली गयौं। अनि दिल्ली हुँदै मुम्बई।