चितवन- वन क्षेत्रमा हुनसक्ने डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र गति दिइएको छ। डिभिजन वन कार्यालयका अनुसार आगलागी हुन सक्ने सम्भावित वनक्षेत्रलाई दृष्टिगत गर्दै वन दस्ता तयार पारिएको हो।
कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आवश्यकताअनुसार बढाउँदै लैजाने गरी हाल दश जनालाई डढेलो नियन्त्रण गर्न वनदस्ता परिचालन गरिएको छ। उनीहरुले समुदायमा पुगेर डढेलोबाट हुनसक्ने क्षतिको विषयमा जानकारी गराउनेछन्। डढेलो लागेमा सूचना दिने र क्षति कम गर्ने विषयमा समेत उक्त दस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले जानकारी दिए।
गर्मीको समयमा जिल्लामा रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा अत्यधिक डढेलो लाग्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न कार्यालयले सामुदायिक वनका प्रतिनिधिहरुसँग छलफल अन्तरक्रिया र संयुक्त र्याली, आमा समूहहरुसँग छलफललगायत काम गरिरहेको सूचना अधिकारी खनालले बताए, 'डढेलो लाग्नै नदिन र लागेमा नियन्त्रणका लागि समुदाय स्तरमै गरिने कामलाई हामीले तीव्र पारेका छौँ।'
डिभिजन वन कार्यालयअन्तर्गत जिल्लामा ९३ सामुदायिक वन, पाँच धार्मिक वन, ४३१ कबुलियती वन र १७१ निजी वन छन्। ती वनमध्ये डढेलोको मुख्य जोखिममा बरण्डाभार क्षेत्रमा रहेका १७ सामुदायिक वन छन्।