मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोध, वैकल्पिकको तयारीमा प्राधिकरण

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोध, वैकल्पिकको तयारीमा प्राधिकरण

निर्माणाधीन गर्ज्याङ-नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोध खडा भएको छ।
 |  मंगलबार, चैत २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २९, २०७८

काठमाडौं- निर्माणाधीन गर्ज्याङ-नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोध खडा भएको छ। खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माणाधीन उक्त प्रासारण लाइन निर्माणमा स्थानीयले शतप्रतिशत मुआब्जाको दाबी गर्दै अवरोध खडा गरेका हुन्। 

रामेछापको गोकुलगंगा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नामाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा प्रसारण लाइन निर्माण हुने क्षेत्रका जग्गाधनीले अवरोध गरेका छन्। कानुनी व्यवस्था अनुसार प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाको मूल्याङ्कित रकमको २० प्रतिशत क्षतिपूर्ति निर्धारण गरिएको छ। 

रामेछापको गोकुलगंगा गाउँपालिकाको गर्ज्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा टुंगिने प्रसारण लाइनको लम्बाइ ३२ किलोमिटर छ। प्रसारण लाइनमा पर्ने १०५ वटा टावरमध्ये सबैको जग हालिएको छ। १०१ वटा टावर खडा गरिएको छ भने २० किलोमिटर तार टांगिएको छ। गर्ज्याङमा १३२/३३/११ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइन तथा सबस्टेसनका अधिकांश उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ।

पूर्वाधार तयार नहुँदा हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको १२ मेगावाट जडित क्षमताको उपल्लो खिम्ती र ७ मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइनमा जोड्न सकिएको छैन।

आयोजना व्यवस्थापनले निरन्तर पहल र प्रयास गरेतापनि  अवरोध हट्न नसक्दा प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसकेको हो। प्रसारण लाइन अभावमा विद्युत खेर जाने अवस्था आएपछि निर्माणमा भइरहेको अवरोध खुलाउन नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले पहल सुरु गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले आयोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरी अवरोध हटाउन प्रमुख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुसँग छलफल गरेको छ।

कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन अभावमा विद्युत जोड्न नसक्नु पीडादायी रहेको बताउँदै आगामी असारभित्रमा जसरी पनि आयोजनाको काम सक्नुपर्ने बताए। ‘प्रसारण लाइन अभावमा १९ मेगावाट विद्युत जोड्न सकिएको छैन, यसबाट आयोजनाका लगानीकर्तालाई मात्र नभएर देशलाई नै घाटा भइरहेको छ, कानुनी व्यवस्था अनुसार मुआब्जा तथा क्षतिपूर्तिका विषयमा अधिकतम लचक बन्न तयार छौं, स्थानीयसँग सहमति कायम गरी अवरोध हटाएर प्रसारण लाइन निर्माणमा सबैले सहयोग गरिदिनु पर्‍यो,’ उनले भने। 

आयोजनाको ठेकेदार पिङ्गाओ ग्रुप कम्पनी, चीनले निर्माणमा ढिलाइ गर्ने देखिएपछि हिमालय ऊर्जा विकास कम्पनीका प्रवद्र्धकहरु सम्बद्ध फ्रेन्डसीप इन्जिनियरिङले सब-कन्ट्रयाकमा काम लिएको थियो। तर, कोभिड–१९को महामारी, समयमा निर्माण उपकरणहरु आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको हो।

अनुमानित लागत २ करोड अमेरिकी डलर लागतको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो। आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

वैकल्पिक व्यवस्थामार्फत् विद्युत जोडिंदै

स्थानीयको अवरोधका कारण गर्ज्याङ–नयाँ खिम्ती १३२ डबल सर्किट प्रसारण लाइन निर्माणमा केही ढिला हुने देखिएपछि उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत आयोजनाबाट उत्पादित विद्युत वैकल्पिक व्यवस्था गरी जोडिने भएको छ। गर्ज्याङ सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेसनमा जोड्ने तयारी प्राधिकरणले प्रक्रिया अघि बढाएको हो। 

जिरी सबस्टेसनबाट चरिकोटस्थित मकैबारी सबस्टेसन हुँदै सिंगटी सबस्टेसनमार्फत विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ। प्राधिकरणले यसका लागि सिंगटी सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताको छुट्टै पावर ट्रान्सफर्मर जोडी चार्ज गरिसकेको छ। 

गर्ज्याङ सबस्टेसनमा रहेको १३२/३३ केभी, ३० एमभिएको पावर ट्रान्सफर्मरलाई १० दिनभित्रमा चार्ज गर्ने लक्ष्य राखिएको छ।

‘वैकल्पिक व्यवस्था अनुसार आयोजनाबाट अहिले उत्पादित करिब १० मेगावाट विद्युत प्रवाह गर्न सकिन्छ,बर्खा लागेपछि मात्रै आयोजना पूर्ण क्षमतामा चल्ने भएकोले त्यतिबेलासम्म गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने।

प्रकाशित: Apr 12, 2022| 14:52 मंगलबार, चैत २९, २०७८
प्रतिक्रिया दिनुहोस्