काठमाडौं- अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा 'नेपाल डे परेड' सम्पन्न भएको छ। नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड' आयोजना गरिएको हो।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाअन्तरर्गतको पश्चिम क्षेत्र र क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरूसँगको सहकार्यमा नेपाल डे परेड आयोजना गरिएको जनाएको छ।
सैयौंको संख्यामा नेपाली भेसभुसासहितको झाँकी अमेरिका र नेपालका सयौं झन्डा फरफराउँदै नेपालको पहिचान झल्काउने र पर्यटनलाई प्रवर्द्धन गर्ने खालका विभिन्न प्लेकार्ड तथा तस्बिर बोकेर सहभागीहरू परेडमा सहभागी बनेका थिए।
नेपाली पन्चेबाजा, लाखे नाचका साथै विभिन्न जनजातिका आफ्नै बाजागाजासहितका नृत्य समेत प्रस्तुत गरिएको थियो। परेड फेरी बिल्डिङदेखि सुरु भएर सिभिक सेन्टर नजिकै रहेको युएन प्लाजामा कोण सभामा परिणत भएको थियो।
नेपालीहरूको एकता र सहकार्यको कारणले नै कार्यक्रम सफल भएको सहभागी संस्था समन्वय समितिका सभापति उत्तम कार्कीले बताए।
कार्यक्रम संयोजक श्रीराम थापाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई बधाई ज्ञापन गरेका थिए।
कार्यक्रमको लागि नेपालका प्रधान मन्त्री शेर बहादुर देउवा, पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलगायतले शुभकामना प्रदान गरेका थिए।