संवादको यो अंश सुन्दैमा लाग्छ- यो कुनै धमाकेदार एक्सन फिल्मको 'डायलग' हो। वास्तवमा यो चलचित्र 'केजीएफ-२' को संवाद हो। र यो चलचित्र र यसका अभिनेता एक्सनका कारण पछिल्लो समय चर्चामा छन्। यसै फिल्ममा छन् अभिनेता यश।
मूलतः दक्षिण भारतको ‘कन्नड’ भाषाको चलचित्र हो केजीएफ-२। अप्रिल १४ (नयाँ वर्ष) मा यो चलचित्र 'रिलिज' हुने तय भएको छ। केजीएफको पहिलो भाग सन् २०१८ मा कन्नड, हिन्दीसहित अन्य थुप्रै भाषामा 'रिलिज' भएको थियो। पहिलो भागले दर्शकको मन जितेपछि दोस्रो भाग बनाइएको यो चलचित्रमा यशसहित सञ्जय दत्त, रविना टन्डन, प्रकाश राजलगायत भारतका प्रसिद्ध अभिनेताको भूमिका छ।
फिल्मी दुनियाँमा आउने यशको यात्रा पनि सरल छैन। धेरै ‘ट्विस्ट’ छन्। घरबाट भागेको कथा छ। 'ब्याक-स्टेज'देखि ठूलो पर्दामा नायकको भूमिकामा देखा परेसम्मको कथा छ।
'फिल्म उद्योगमा नयाँ हुँदा 'तपाईं कुन पृष्ठभूमिबाट आउनु भएको हो, र कहाँबाट आउनु भएको हो' भन्ने कुराले खासै फरक पार्दैन भन्ने मलाई लाग्थ्यो। अहिले आफ्नो काममा तपाईं पोख्त हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराले मात्र फरक पार्छ भन्ने लाग्छ। दर्शकलाई ‘कनेक्ट’ गर्न सक्नुहुन्छ कि हुन्न भन्ने कुरामा निर्भर गर्छ,' फिल्म कम्पेनियमसँगको अन्तर्वार्तामा यशले भनेका थिए।
‘हिरो’ बन्नलाई घरबाट भागेर बैंगलोर पुगेको कुरा पनि जोडेका छन्। तर त्यहाँ पुग्नासाथ उनी आत्तिए। उनीसँग जम्मा ३ सय रुपैँया मात्र थियो। घर फर्केर जाने विकल्प पनि थिएन। फर्कियो भने फेरि आउन नपाइने डरले उनी घर फर्कन असमर्थ थिए।
यशको यात्रा ‘नवीन कुमार गौडा’का नामले सुरु भएको हो। तर यो नाम कमैलाई थाहा भएको कुरा उनी बताउँछन्। आज कसैले उनलाई नवीनकुमार गौडाको नामले बोलायो भने उनी ‘को रहेछ यो’ भनेर चकित हुने कुरा उनले ‘बलिउड हंगामा’को कार्यक्रममा उनले भनेका थिए।
यशका अनुसार उनलाई सानैदेखि अभिनेता बन्न मन थियो। दर्शकहरु रमाएर ताली पिटेको देख्दा उनी प्रफुल्लित हुन्थे। दर्शकले प्रतिक्रिया दिँदा आफूलाई ‘हिरो’ भएको महसुस हुन्थ्यो उनलाई।
अन्तर्वातामा उनले ‘हिरो’ बन्नलाई घरबाट भागेर बैंगलोर पुगेको कुरा पनि जोडेका छन्। तर त्यहाँ पुग्नासाथ उनी आत्तिए। उनीसँग जम्मा ३ सय रुपैँया मात्र थियो। घर फर्केर जाने विकल्प पनि थिएन। फर्कियो भने फेरि आउन नपाइने डरले उनी घर फर्कन असमर्थ थिए।
संघर्षसँग कहिल्यै डर नलागेको बताउँछन् यश। बैंगलोरमा उनी थिएटरसँगै ब्याक-स्टेजमा पनि काम गर्थे। फिल्म-ईन्डस्ट्रीको संघर्ष पनि साथ-साथै चलिरह्यो।
सन् २००८ मा कन्नड फिल्म ‘मोगिना मनासु’बाट यश चलचित्र दुनियाँमा प्रवेश गरेका हुन्। यो चलचित्रमा उनले निभाएको भूमिकाका लागि उनले ‘उत्कृष्ट सहायक अभिनेता’को फिल्म फेयर अवार्ड पनि पाए। त्यसपछि ‘राजधानी’, ‘गजकेशरी’, ‘मास्टरपिस’, जस्ता चलचित्रबाट उनले झन्-झन् लोकप्रियता कमाउँदै गए।
यशको निजी जीवनको कुरा गर्दा उनको विवाह अभिनेत्री राधिका पण्डितसँग भएको छ। केही वर्ष ‘डेटिङ’ अनि आफूहरू एक-अर्काकै लागि बनेको जस्तो लागेपछि उनीहरुले विवाह गरेको कुरा उनीहरुले एक अन्तर्वातामा भनेका छन्। यो दम्पतीका दुई सन्तान छन्।
आफू गाउँदेखि आएर हिरो बनेको यात्राको कथा प्रेरणादायी भएका कारण पनि उनले दर्शकबाट प्रगाढ माया पाएको कुरा यशले पुराना अन्तर्वार्तामा भनेका छन्।
(बीबीसी हिन्दीमा प्रकाशित यो सामग्री विनायक कार्कीले भावानुवाद गरेका हुन्।)