काठमाडौं– विश्वभरका धनी व्यक्तिहरुको सूची प्रकाशन गर्ने पत्रिका फोर्ब्सले यो वर्ष पनि डलर अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ। मंगलबार राति सार्वजनिक भएको सूचीमा नेपालका विनोद चौधरी पनि परेका छन्।
दक्षिण एसियाका देशमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका छन्। नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति पनि वृद्धि भएको छ। फोर्ब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ। चौधरी फोर्ब्सको सूचीमा १९२९ औं नम्बरमा छन्। चौधरी सन् २०१३ देखि अर्बपतिहरुको सूचीमा निरन्तर रहँदै आएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसदसमेत रहेका चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन्।
फोब्र्सको सूचीमा भारतका १६६ जना अर्बपति छन् भने अर्को छिमेकी चीनका ५३९ जना छन्। सूचीको सबैभन्दा शीर्ष स्थानमा रहेको अमेरिकामा अर्बपतिहरुको संख्या ७३५ रहेको छ।
२९०.३ अर्ब डलर सम्पत्तिसहित एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन्। दोस्रोमा जेफ बेजोस छन्, जसको सम्पत्ति १८९.८ अर्ब डलर छ। बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी छन्। भारतका गौतम अदानी र मुकेश अम्बानी क्रमशः नवौं र दशौं नम्बरमा छन्।