काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाहलाई आयातको नभई निर्यातको केन्द्र बनाउने सङ्कल्प गर्नुपर्ने बताएका छन्। रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र नेपालका लागि जोखिम हो भन्दै उनले बन्दरगाह निर्यातको केन्द्रविन्दु बन्नुपर्ने उल्लेख गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मंगलबार उद्घाटनपछि आयोजित समारोहमा अर्थमन्त्री शर्माले खाद्य वस्तु र कृषिमा आधारित वस्तुहरु यही बन्दरगाहमार्फत आयात गर्नुभन्दा त्यसलाई घटाउँदै निर्यात गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए।
उनले श्रम र प्राकृतिक स्रोतलाई पूँजीमा बदलेर आत्मनिर्भरतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। यसका लागि निजी क्षेत्र र सहकारीसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए।
बन्दरगाह मंगलबार उद्घाटन भएसँगै सडकमार्फत सिधैँ समुद्रबाट काठमाडौं जोडिएको र यसले व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ। मन्त्री शर्माले लागत र समयका दृष्टिकोणले थप उपलब्धि हासिल भएको स्पष्ट पारे।
समारोहमा आयात निर्यातको तथ्यांक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले फागुन मसान्तसम्म वैदेशिक आयात रु १३ खर्ब आठ अर्बको रहेको र यो अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको बताए। निर्याततर्फ आठ महिनामा रु एक खर्ब ४७ अर्बको निर्यात भएको जानकारी दिँदै उनले अघिल्लो वर्षको भन्दा केही सुधार भएको बताए।
उनले यसबाट कूल वैदेशिक व्यापारको हिस्सामा १० दशमलव ४१ प्रतिशत हुनु न्यून भएको बताए। कोभिड–१९ ले एउटा शिक्षा दिएको समयमा रुस र युक्रेनको युद्धले पनि नेपाली अर्थतन्त्रमा गहिरो रुपमा चुनौती थपिएको मन्त्री शर्माको भनाइ थियो। फागुन मसान्तसम्म रु नौ खर्ब ४० अर्बको सञ्चिति रहेको र यसले ६ महिनाका लागि माल वस्तुको खरिद गर्न सकिने अवस्थामा मुलुक रहेको उहाँले उल्लेख गरे। केही चुनौती आउन सक्छन् भनेर सतर्कता अपनाएको उनले बताए। रेमिट्यान्स चार प्रतिशत ऋणात्मक रहेकामा अहिले ३ प्रतिशत धनात्मकमा आएको उनले जानकारी दिए।