काठमाडौं- काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मालवाहक गाडी भित्राउँदै उद्घाटन गरेसँगै बन्दरगाह सञ्चालनमा आएको हो।
उद्घाटनको क्रममा काठमाडौंका लागि मालबस्तु बोकेर आएका ३ वटा कन्टेनर भित्र्याइएका हुन्। सीमावर्ती क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह ‘चोभार बन्दरगाह’ मा तेस्रो मुलुकबाट काठमाडौंका लागि आएका ती कन्टेनर वीरगन्ज नाका हुँदै काठमाडौं आएका हुन्।
योसँगै राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधैं काठमाडौं आउनेछन्। साथै स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो पनि खुलेको छ। यता यो बन्दरगाहबाट स्वदेशी वस्तु निर्यात पनि गर्न सकिन्छ।
माल वस्तु आयात र निर्यातका लागि भन्सार, क्वारेन्टिन, सुरक्षासहितको सबै पूर्वाधारहरु पूर्ण रुपमा बनिसकेका छन्। विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा बन्दरगाह निर्माण भएको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ।
काठमाडौं केन्द्रित व्यवसायीका लागि आयात निर्यातमा महत्वपूर्ण मानिएको चोभारको सुख्खा बन्दरगाह नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो।