काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सम्पन्न भएको छ। चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो।
एक्स्पोले मुलुकको ऊर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप ऊर्जा प्रदान गरेको आयोजक तथा सहभागीको विश्वास छ। एक्स्पोको समापन सत्रमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले स्वदेशमा उत्पादित विद्युतको बिक्री बितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन माग गरेको छ। इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जामन्त्री पम्फा भुसाललाई विद्युत खरिद बिक्री सम्झौता नरोक्न आग्रह गरेका हुन्।
'हामीले विद्युत व्यापार गर्ने इजाजत पाएको खण्डमा हामी आफैँ पिपिए गर्छौं। यसो भएको खण्डमा विद्युत प्राधिकरणको आधा भन्दा धेरै समस्या समाधान हुन्छ,' आचार्यले भने। उनले जलविद्युतका प्रवर्द्धक तथा उत्पादकले काम गर्दा धेरै निकाय धाउनुपर्ने समस्या रहेकोतर्फ ऊर्जामन्त्री भुसालको ध्यानाकर्षण गराए।
इप्पान र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा भएको एक्स्पोमा जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनहरु प्रदर्शनीमा राखिएका थिए। भर्चुअल माध्यमबाट एक्स्पोको अवलोकन गर्ने तथा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनेहरुको पनि उल्लेख्य सहभागिता रहेको आयोजकले जानकारी गराएको छ।
रोबो कम्पिटिसन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी एक्स्पोका थप आर्कषण रहेका थिए। त्यस्तै, एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको थियो।
एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ। एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावरसम्बन्धी विषयगत ६ वटाभन्दा बढी प्राविधिक सेसन तथा अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो।
विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका थिए।
एक्सपोलाई एनएमबी बैंक लिमिटेडले मुख्य प्रायोजन गरेको थियो भने आईएफसी लगायतका संघ, संस्थाहरुले प्रायोजन गरेका थिए। एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहेका थिए।
एक्स्पोमा जलविद्युत आयोजना निर्माता, जलविद्युतमा प्रयोग हुने उपकरणहरुका उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीहरु लगायत सय वटाभन्दा बढी स्टल रहेका थिए।
एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।
एक्स्पोको उदघाटन गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिईन्।