सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एलसीमा कडाइ गर्न राष्ट्र बैंकको निर्देशन, गाडी र विलासी वस्तुको आयात रोकिने संकेत

एलसीमा कडाइ गर्न राष्ट्र बैंकको निर्देशन, गाडी र विलासी वस्तुको आयात रोकिने संकेत

विदेशी मुद्राको सञ्चिति घटेपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले वाणिज्य बैंकहरूलाई एलसीमा कडाइ गर्न निर्देशन दिएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं- विदेशी मुद्राको सञ्चिति घटेपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एलसीमा कडाइ गर्न निर्देशन दिएको छ। नियामक राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुलाई बोलाएर एलसीमा कडाई गर्न निर्देशन दिएको हो। 

सोमबार केन्द्रीय बैंकले आकस्मिक रूपमा समसामयिक विषयमा छलफल गर्न भन्दै वाणिज्य बैंकका सीईओलाई बोलाएको थियो। यसपछि त्यहाँ पुगेका सीईओहरूलाई एलसीमा विस्तारै कडाइ गरेर क्रमशः संकुचित गर्दै जान निर्देशन दिएको हो।

नेपाल राष्ट्र बैंकले लिखित रुपमा एलसी खोल्न बन्द गर्न निर्देशन दिने अधिकार छैन। आयात बन्द गर्नका लागि सरकारले निर्णय गर्नुपर्छ। तर अर्थतन्त्र र वित्तीय अवस्थामा थप जोखिम आउन नदिने उपायहरुको खोजीका क्रममा राष्ट्र बैंकले एलसीमा कडाई गर्न बैंकहरूलाई निर्देशन गरेको हो। 

डलरको सञ्चितिमा भएको कमी राष्ट्र बैंकका अधिकारीलाई चिन्ताको विषय बनेको छ। अर्थतन्त्रमा आउन सक्ने संकट टार्न राष्ट्र बैंकका अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग र विदेशी विनिमय विभागको सक्रियतामा बैंकहरुसँग छलफल गरिएको हो। 

राष्ट्र बैंकका अधिकारीका अनुसार सोमबार बैंकलाई बोलाएर डलरको सञ्चिति घटेकाले आयात निरुत्साहित गर्नुबाहेक विकल्प नरहेकाले देशको अर्थतन्त्र जोगाउन बैंकर्सलाई छलफलका लागि बोलाइएको हो। 'आयातका कारण शोधनान्तर स्थिति ठूलो घाटा हुनुका साथै डलर सञ्चितिमा पनि समस्या भएको छ। देशको अर्थतन्त्र दुर्घटनामा पर्न सक्ने सोचेर समाधानका उपाय खोज्ने क्रममा बैंकर्ससँग छलफल गरिएको हो,’ राष्ट्र बैंकका ती अधिकारीले भने। छलफलका क्रममा विलासी वस्तुको आयातका लागि खोलिने एलसी रोक्न सकिनेबारे कुराकानी भएको उनले स्वीकार गरे। 

त्यस्तै बैंकरहरु भने राष्ट्र बैंकले एलसी खोल्न बन्द गर्नका लागि राष्ट्र बैंकले मौखिक निर्देशन दिएको बताउँछन्। ‘सोमबार छलफलको लागि भन्दै राष्ट्र बैंकले आफूहरुलाई बोलाएर आयातलाई रोक्नका एलसी खोल्न बन्द गरिदिन निर्देशन दिएको हो। त्यस्तै कर्जा प्रबाह पनि बन्द गर्न भनिएको छ,’ एक सीईओले भने, 'विशेषगरी विलासिताका वस्तु आयातका लागि खोलिने एलसी बन्द गर्न राष्ट्र बैंकले आग्रह गरेको हो। हामीले पहिलो प्राथमिकता गाडीको आयातका लागि खोलिने एलसीलाई दिएका छौँ।'

राष्ट्र बैंक विदेशी विनियम विभागका प्रमुख रामु पौडेल भने आफू आइतबारदेखि बिदामा रहेकोले यो विषयमा जानकार नरहेको बताउँछन्। 'हिजोदेखि म बिदामा छु, एलसी खोल्नका लागि बन्द गर्ने विषयमा म अनविज्ञ छु,' उनले भने। 

चालु आर्थिक वर्षको ७ महिनामा करिब ७० अर्ब रुपैयाँ बराबरका गाडी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। गाडीको आयातमा कडाइ गर्दा डलरको सञ्चितिमा केही सुधार हुने राष्ट्र बैंकको विश्वास छ। यसअघि पनि राष्ट्र बैंकले विभिन्न वस्तुको आयातका लागि खोलिने एलसीमा कडाइ गरेको थियो। 

आयातकर्ता र निर्यातकर्ताको अनुरोधमा भुक्तानीको ग्यारेन्टीका लागि बैंक नै जमानत बसिदिने प्रक्रियालाई एलसी (प्रतीतपत्र अर्थात् लेटर अफ क्रेडिट) भनिन्छ। सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा यसको प्रयोग हुन्छ। आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई भुक्तानी हुने विश्वसनीयताका लागि प्रत्याभूति गरिदिएपछि निर्यातकर्ताले आयातकर्ताको देशमा सामान पठाइदिन्छ। सामान प्राप्त भएपछि आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई तोकिएको रकम भुक्तानी गरिदिन्छ। यस्तो भुक्तानी अमेरिकी डलरमा गर्नुपर्ने हुनाले डलरमा चाप पर्दा कडाइ गरिन्छ। एलसीमा गरिएको कडाइले देशको आयात प्रभावित गर्छ।

प्रकाशित: Apr 04, 2022| 20:11 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्