सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कतार विश्वकपको नेपाल साइनो : रंगशाला बनाउँदा बाबुको मृत्यु भएपछि छोराछोरी बालश्रमिक

कतार विश्वकपको नेपाल साइनो : रंगशाला बनाउँदा बाबुको मृत्यु भएपछि छोराछोरी बालश्रमिक

'अहिले हामीलाई हेर्नुहोस् - हामीले सर्वस्व गुमायौँ। मेरो सानो छोरो काम गर्न बाध्य छ। किनकि उसको बुवा हामीसँग हुनुहुन्न। घर त चलाउनै पर्‍यो। हामी जटिल समस्यासँग दिनहुँ जुझिरहेका छौँ,' उत्सवकी आमाले भनिन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

-सेवास्टियन कास्टेलियर/क्वेन्टिन मुलर

आउँदो विश्वकप कतारका लागि १२ वर्ष लामो अथक यात्राको मुख्य 'ल्यान्डमार्क' मानिएको छ। यो यात्राले कतारका भौतिक पूर्वाधार विकासलगायतमा २० लाखभन्दा बढी आप्रवासी कामदारलाई आकर्षण गरिरहेको छ। कतारको यो यात्रा अभूतपूर्व हो। 

गत शुक्रबार ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’मा एक इभेन्टका लागि भीआईपीहरू, फूटबल टिम, प्रशिक्षक, सेलिब्रेटीलगायत जम्मा भएका थिए। कार्यक्रम भएको भवन र आसपासको क्षेत्र कतारको राजधानी दोहामा भइरहेको रुपान्तरणको उदाहरण हो। 

यो क्षेत्र आधुनिक भवन, कार्यालय, महँगा रेस्टुरेन्ट, चम्किला होटेल, मललगायतका संरचनाले झकिझकाउ छ। नजिकै ठूलो खर्चमा निर्मित नयाँ मेट्रो स्टेसन छ। सडकबाट अलि अगाडि ठूला ऊर्जा कम्पनी छन्। लगत्तै विश्वकप आयोजक कतारी टिमको मुख्यालय छ।

यो विश्वकप भव्य बनाउका लागि कतार चिन्तित पनि छ। मध्य-पूर्वी क्षेत्रमा आयोजना हुन लागेको पहिलो विश्वकप भएकाले पनि यसलाई अविस्मरणीय बनाउने योजना उसको छ। 

कतारको दोहामा विश्वकप हुने भएपछि करिब ३४०० किलोमिटर टाढाका क्षेत्रमा चासो कमै थियो। तर, त्यति टाढा विश्वकप फुटबल हुने भएपनि त्यसको साइनो भने निश्चित रूपमा (विश्वका धेरै ठाउँसम्म) जोडिएको छ। 

'म तीन महिनाको हुँदा मेरा बुवा कतार जानु भएको थियो। दुई वर्षपछि फर्कनुभएछ। तर, मृत। मलाई बुवाको कुनै सम्झना छैन,' १४ वर्षीय उत्सव (नाम परिवर्तन) भन्छन्।

‘दि इन्डिपेन्डेन्ट’सँग कुरा गर्दै उत्सवकी ५० वर्षीया आमाले श्रीमानको मृत्यु दोहामा पानीको पाइप सफा गर्ने क्रममा भएको बताइन्।

'सफा गर्न उहाँ पाइपभित्र छिर्नु भएको रहेछ। पानीको बहाव सुरु हुँदा पनि बाहिर निस्किन नसकेपछि त्यहीँ अड्किएर उहाँको मृत्यु भएछ। खबर सुन्नासाथ म बेहोस भएँ। लडेँ। त्यसबेला मेरो पछाडिपट्टि ठोक्किएछ, अहिले पनि सताउँछ। मलाई त हिँडडुल गर्न नै नसक्ने गरी बनाउँछ होला,' उनले भनिन्। 

ऋणको भार र ४ छोरीको विवाह गरिदिनु पर्ने पिरले उत्सवका बुवा सुत्न सक्दैनथे। पैसा कमाउनका लागि उनी कतार छिरेका थिए। छोरीको विवाहमा दिनुपर्ने दाइजो प्रथाको बोझले उनलाई पनि गाँजेको थियो।

कतारबाट पैसा पठाउन थालेपछि उत्सवको परिवारको समस्या केही हदसम्म सुल्झिएको थियो। परिवारमा खुसी छाउँदै मात्र थियो। तर यो खुसी लामो समय टिक्न सकेन।

'अहिले हामीलाई हेर्नुहोस् - हामीले सर्वस्व गुमायौँ। मेरो सानो छोरो काम गर्न बाध्य छ। किनकि उसको बुवा हामीसँग हुनुहुन्न। घर त चलाउनै पर्‍यो। हामी जटिल समस्यासँग दिनहुँ जुझिरहेका छौँ,' उत्सवकी आमाले भनिन्। 

बुवाको मृत्युपछि घरमा अन्न भित्र्याउने जिम्मा परिवारको एक मात्र छोरो उत्सवको काँधमा आइपरेको छ। उनी विद्यालय पनि जान्छन्। तर कामबाट फुर्सद पाएका बेला मात्र।

आमा एक्लैले काम गरेर बिहान-बेलुका खान पुग्दैन भन्ने कुरा उत्सवले राम्रोसँग बुझेका छन्। त्यसैले उनी खेतीमा काम गर्छन्। भैँसी चराउँछ। बाख्रा चराउँछ। दिनमा कम्तिमा ८ घण्टा खटेपछि लगभग ५०० रुपैँया कमाउँछ।

'हामीसँग अलिकति पनि पैसा छैन। यस्तो अवस्थामा म मेरो भविष्यको कल्पना कसरी गरौँ?' उत्सवको गहिरो प्रश्न छ। 

नजिकै परालको माचमा बसेका नातेदार सुनील कुमार महरा दुःखी देखिन्छन्। उनको गुनासो रहेछ - वैदेशिक रोजगारीका क्रममा पतिले ज्यान गुमाएर विधुवा भएका महिलाका लागि सामुदायिक स्तरबाट सहयोगको कमी भएको विषयमा।

'कमजोर आर्थिक अवस्थामा मानिसहरुलाई सहयोग गर्न सक्ने सामर्थ्य पालिका प्रमुख छ। तर उहाँलाई सडक/बाटो बनाएरै फुर्सद छैन,' सुनील जोस्सिन्छन्।

'नेपालका अधिकारीलाई मात्र दोष लगाउनु उचित हुँदैन । 'इमिरेट्स'को समृद्धिका लागि त्यहाँको अर्थतन्त्रको पाङ्ग्रामा तेल हाल्दाहाल्दै ज्यान गुमाएका आप्रवासी कामदारका परिवार सहयोग गर्ने कतारको नैतिक जिम्मेवारीलाई बिर्सन मिल्दैन,' सिराहाकी अगुवा शशिकुमारी यादवको भनाइ छ, 'के उनीहरुसँग यी बालबालिकाको शिक्षाका लागि पुग्ने कोषको कमी छ? होइन, बरु उनीहरुलाई वास्तै छैन।'

शशिको गाउँमा करिब ४५ सय परिवार छन्। तीमध्ये २ सयभन्दा बढीले खाडीमा आफ्नो परिवारको सदस्य गुमाएका छन्। एक चौथाई परिवारमा त स-साना छोराले बुवाको मृत्युपछि घरको जिम्मेवारी आफ्नो काँधमा बोक्नु परेको छ।

'नेपालमा बालश्रम बढाउन आप्रवासी कामदारको मृत्युले ठूलो भूमिका खेल्छ। ती परिवारलाई पीडामा देख्दा साह्रै मन दुख्छ,' शशी थप्छिन्। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठनको सन् २०१८ को रिपोर्ट अनुसार नेपालका ७० लाख बालबालिकामध्ये ११ लाख श्रम गर्न बाध्य छन्।

सन् २०१९ देखि २०२१ सम्म कतारका लागि नेपाली राजदूत रहेका नारदनाथ भारद्वाजले नेपाली कामदारको मुद्दा उठाएका थिए। दूतावासको तथ्याङ्क अनुसार प्रत्येक वर्ष १ सयदेखि १५० नेपालीले कतारमा ज्यान गुमाउँछन्। कामदारको मृत्युदर नेपालमा भन्दा खाडीमा ‘निश्चित रुपमा उच्च' भएको भारद्वाज बताउँछन्।

उनका अनुसार कतारमा रहेका लगभग साढे ३ लाख नेपाली कामदारमध्ये प्रत्येक ३० जनामा एक जना विश्वकपका मैदान तथा रंगशालाको निर्माणमा खटाइएका छन्। कतारले यकिन तथ्याङ्क सार्वजनिक नगर्ने भएकाले 'ठ्याक्कै' भन्न नसकिने उनको भनाइ छ। 

मानव अधिकार संगठनहरुको गठबन्धनको सन् २०२२ को प्रतिवेदन अनुसार दक्षिण तथा दक्षिणपूर्वी एसियाका करिब १० हजार आप्रवासी कामदारले प्रत्येक साल खाडीमा ज्यान गुमाउने गरेका छन्। 

आधाभन्दा बढी ‘केस’मा मृत्युको कारण खुलाइएको हुँदैन। पृथ्वीकै सबैभन्दा गर्मी त्यस क्षेत्रमा आप्रवासीहरुलाई हृदयघातको जोखिम उच्च हुन्छ। पासपोर्ट खोसिदिने, समयमा तलब नदिने, राम्रोसँग आराम गर्न नदिने जस्ता दमनकारी व्यवहारको आरोप कामदारले रोजगारदातामाथि लगाउने गरेका छन्। 

कामका क्रममा ज्यान गुमाएकाका परिवारको न्यायका लागि विश्वकपमा आवाज उठाउने वाचा मानव अधिकार संगठनले गरेका छन्। यसका साथै यसै विषयमा कुनै न कुनै माध्यमबाट आफूले पनि न्याय मागिदिने सहभागीले प्रतिबद्धता जनाएका छन्।

अन्तर्राष्ट्रिय दबाबका कारण आप्रवासी कामदारप्रतिको आफ्नो व्यवहारलाई लिएर कतार झुक्न बाध्य भएको छ। अहिले कतारमा गैर-भेदभावपूर्ण ज्यालाको चलन सुरु भएको छ। ‘काफाला’ मजदुरी प्रणाली अन्तर्गत मालिकको अनुमति बिना कामदारले काम फेर्न वा देश छोड्न नपाउने व्यवस्था थियो। यसको अन्त्य भएको छ।

000

अंग्रेजी अक्षरमा 'फ्रिडम' (स्वतन्त्रता) लेखिएको मैलो टी-सर्ट लगाएका १९ वर्षीय कृष्ण धुलोमा बसेर फलामलाई हथौडाले पिट्छन्।

सन् २०२० को सुरुवातमा कोभिडका कारण कतारमै बुवा गुमाएपछि कृष्णलाई ‘डिप्रेसन’को लक्षण देखिएको छ। उदासीनताले सताएको थियो।

१७ वर्षको उमेरमा कृष्णले विद्यालय छोडेर निर्माणको काममा लाग्नुपर्‍यो। कतारमा माहामारीका बेला कामदारलाई अति भीड ठाउँमा छोडिएको थियो। भीडका कारण महामारी संक्रमणको जोखिम बढी थियो। 

प्रकाशित: Apr 04, 2022| 21:19 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्