काठमाडौं- नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरण गर्न सरकार र निजी क्षेत्र दुवैले भारतसँग आग्रह गरेका छन्।
भारत भ्रमणका क्रममा शनिबार भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन सरकार रहेको बताए। कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्यविना समृद्ध नहुने पनि भन्दै उनले त्यसका लागि वातावरण बनाउने बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएको सम्झौताले विद्युत् आदान प्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उनले बताए। कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। सिआईआई भारतमा महासंघको साझेदार संस्था पनि हो।
कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए। ‘पछिल्ला वर्षमा भारतीय लगानी घटिरहेको छ’, उनले भने, ‘यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ हामी गर्न तयार छौं। सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्षसमेत स्थापना भएको छ।’
उनले पर्यटन क्षेत्रमा सम्भावना बढदै गएको पनि बताए। ‘पहिले घुम्न आउनोस, त्यसपछि लगानी गर्नुहोस, अनि आम्दानी पनि गर्नुहोस’, उनले भने।
उनले अबको दुई वर्षमा अहिलेको पर्यटन पूर्वाधारले नपुग्ने र सरकारी नीतिका कारण यस क्षेत्रमा लगानी सहज भएको पनि बताए। नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीले राम्रो मुनाफा आर्जन गरिरहेको पनि बताए।
नेपाल भारतका लागि नवौ ठूलो निर्यात गन्तव्य भएको सन्दर्भ प्रस्तुत गर्दै अध्यक्ष गोल्छाले नेपालले पनि भारतमा निर्यात बढाउन खोजिरहेको बताए। नेपालको भारततर्फ र तेस्रो मुलुकको निर्यातमा भारतले सहजीकरण गरिदिनुपर्छ भन्दै उनले नाकामा पूर्वाधार सुधार र गैर भन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए।
कृषिजन्य उत्पादनको निर्यातका लागि समान गुणस्तरको ल्याब स्थापना गरि एक अर्काको देशमा मान्यता दिनुपर्ने पनि उनले बताए।
कार्यक्रममा सिआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए। सिआईआईको उर्जा संयन्त्रले नेपालमा लगानी बढाउन सहकार्य गर्ने पनि उनले बताए। कृषिजन्य वस्तुको निर्यातमा गुणस्तरीय कायम गर्न भारतले सहयोग गर्न सक्ने उनले बताए।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले नेपाल भारतबीचको संयुक्त व्यवसायिक फोरमको बारेमा जानकारी गराएकी थिइन्। त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) शुसिल भट्टले लगानीका लागि भइरहेको प्रयासबारे जानकारी दिएका थिए।
कार्यक्रममा करीब ३० ओटा भारतीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिको सहभागिता थियो। करीब १५ ओटा कम्पनीका सीईओले नेपालमा लगानीको सम्भावना बारे चासो र अनुभव आदान प्रदान गरेका थिए।
कार्यक्रमअघि महासंघ र सिआईआईका पदाधिकारीबीच सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल द्विपक्षीय छलफल भएको थियो।