काठमाडौं– गत मंगलबार काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा ‘अन्तराष्ट्रिय युवा उद्यमशिलता सम्मेलन’ सम्पन्न भयो। नेपाल–भारत स्टार्टअप इकोसिस्टमलाई वृद्धि गर्न उद्देश्यले सुरु भएको यो सम्मेलनको प्रि–इन्क्युबेसन चरणमा देशका विभिन्न जिल्लाबाट ८० स्टार्टअप कम्पनीको आवेदन परेको थियो। जसमध्ये २० कम्पनी सम्मेलनका लागि छनौट भए। तीमध्ये पनि आइडिया अडिसनबाट छानिएका चार कम्पनी हुन्, बोआ फ्रेस, टेक्का, सारङ र वेद चार। अब यी चारवटै स्टार्टअप कम्पनीलाई पाँचदेखि १० लगानीकर्ताले लगानी गर्नेछन्।
दर्जनौं स्टार्टअप कम्पनीको भिडमा किन छानिए त यी चार कम्पनी? आ–आफ्नै शिल्प र संघर्षसहित बजारमा आएका यी कम्पनीहरुको कथा कम प्रेरणादायी छैन।
भूकम्पपछि जन्मिएको आइडिया टेक्का
काठमाडौंको मुटु मानिने असनमा जन्मेर त्यहीँ हुर्किएकी शैलजा कसजुले प्लस टु पढ्दासम्म गाउँ देखेकी थिइनन्। शहरकै रमझममा रमाइरहेकी थिइन्। तर, अहिले उनै शैलजाले गाउँघरलाई प्रेरणाको स्रोत मात्र बनाएकी छैनन्, त्यहाँका महिलाको जीवनस्तर सुधार्न पनि लागि परेकी छिन्।
आफूलाई सामाजिक अभियन्ता ज्यादा, व्यवसायी कम मान्ने कसजुले महिला सशक्तिकरण र आत्मनिर्भरताका लागि सुरु गरेको स्टार्टअप कम्पनी हो, टेक्का।
टेक्का वातावरणमैत्री नेपाली वस्तु उत्पादन गर्ने कम्पनी हो। जसले स्थानीय कच्चा पदार्थबाट खाना, गहना, लुगा, ब्याग, जुत्ता, टोपी, सजावटका सामग्रीदेखि प्याड उत्पादन गर्छ। कम्पनीमा काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, नवलपरासी र चितवनका ५० भन्दा बढी महिला सहभागी छन्। उनीहरु घरमै सिलाइबुनाइ गरेर समान बनाउँछन्।
टेक्काको पछिल्लो उत्पादन हो, वातावरणमैत्री प्याड। यसको बजारीकरणमा व्यस्त कसजुले आफ्नो कम्पनीको स्टार्ट अप यात्रा छोट्याउँदै सुनाइनन्, ‘सन् २०१५ को भूकम्पमा सिन्धुपाल्चोक पुगेकी थिएँ। त्यहाँ राहत र उद्धारको काम गर्ने क्रममा जन्मिएको आइडिया हो, टेक्का।’
प्रकोपमा तत्काल राहत र उद्धारका काम त भए। तर उनलाई लाग्यो, प्रकोपले त्यस क्षेत्रमा पारेको प्रभाबमा यति सहायताले मात्रै कहाँ पुग्ला र! त्यतिबेला धेरै पुरुषहरु वैदेशिक रोजगारमा गएको र प्रकोपका समयमा समेत घर फर्कन नसक्ने अवस्था थियो।
घर खर्च चलाउन देखिएको समस्यालाई कम गर्न उनले उपाय जुराइन्। आफैंले पनि सधै डोनेसनका आधारमा समाजसेवा गर्न नसकिने महसुस गरेपछि टेक्कालाई कम्पनीको रुप दिइन्। उनलाई लाग्यो, भूकम्पले क्षतविक्षत भएका परिवारलाई आर्थिक टेको दिन टेक्काले धेरै भूमिका खेल्न सक्छ।
पेशाले इन्टेरियर डिजाइनर शैलजाले जागिर भने एक वर्ष मात्र गरिन्। आफूभित्रको समाजसेवा प्रतिको भावनाले उनलाई आज आफ्नै व्यवसायसम्म डोर्याएको छ। शैलजाले डेभलपमेन्ट स्टडिजमा मास्टर्स गरिरहेकी छन्।
‘तीन वर्ष स्थानीय महिला सशक्तिकरण र समुदायको संलग्नताका लागि तालिम दिने काम भयो,’ उनले भनिन्, ‘नवलपरासीमा केरा र सिन्धुपाल्चोकमा सल्ला, कटन धागो लगायतका कच्चा पदार्थबाट टेक्कामा सामान बनाइन्छ। जुन ठाउँमा जस्तो कच्चा पदार्थ त्यस ठाउँमा त्यहि प्रकारका उत्पादनमा हामीले जोड दिएका छौं।’
कुनै पनि स्टार्टअप कम्पनीलाई बजारमा टिक्न त्यति सहज छैन। उनीहरुले बजारमा वाहवाही त कमाउँछन् तर आर्थिक रुपमा उन्नति गर्न भने गाह्रै हुन्छ। यो चुनौतीबाट टेक्का पनि विमुख छैन। ‘हामीकहाँ स्वदेशी उत्पादनलाई प्रशंसा गर्नेहरु धेरै छन् तर प्रयोग गर्नेको अभाव छ,’ शैलजा भन्छिन्, ‘त्यसैले हामीले सजावटका लागि मात्र होइन, दैनिक आवश्यकताका सामग्री पनि समेटेका छौ। तैपनि लगानी र बजारमा देखिएका समस्या बाहेक पनि उत्पादनमा केहि चुनौति छन्।’
शैलजाका अनुसार गाउँघरमा महिलाहरु खेतीपातीका समयमा व्यस्त हुँदा माग अनुसार उत्पादन गर्न समस्या छ। यद्यपी उनले हार मानेकी छैनन्। देशभरका सबै गाउँमा स्वदेशी उत्पादन फैलाउने उनको सपना छ। त्यसका लागि उनले गाउँकै कच्च पदार्थ गाउँकै लगानीमा उत्पादन गरी स्थानीय बजारमै खपत गराउने तयारी थालेकी छिन्। ‘१५ हजारको लगानीबाट व्यवसाय सुरु गरेकी थिएँ। आज धेरै मान्छेहरु लाखौं रकम लगानी गर्ने प्रस्ताव लिएर आइरहेका छन्,’ शैलजा दंग छिन्।
कथाको सहरमा सारङ
किंग्स कलेजको दोस्रो तला, रुम नम्बर २०६। सधैं व्यस्त देखिने पाँच विद्यार्थी त्यहाँ कुनै होमवर्क गरिरहेका हुँदैनन्, एउटा वेबसाइट चलाइरहेका छन्। त्यो वेबसाइटमात्रै होइन, उनीहरुले सुरु गरेको स्टार्टअप कम्पनी हो। नाम छ, सारङ।
यो यस्तो वेबसाइट हो जहाँ नेपालका विभिन्न स्थानको ऐतिहासिक सांस्कृतिक महत्व बोक्ने सम्पदाको कथा अध्ययन गर्न सकिन्छ। त्यो पनि कुनै एपबाट हैन, क्युआर कोडबाट।
झण्डै एक वर्षको तयारीपछि सचिन डाँगी र उनका सहपाठीले सुरु गरेको सारङ अन्तर्राष्ट्रिय युवा उद्यमशिलता सम्मेलनको शीर्ष चार स्टार्टअपमा पर्र्न सफल भएको छ।
सारङको सुरुवात सम्झिँदै कम्पनीका सीइओ समेत रहेका सचिन भन्छन्, ‘काठमाडौंमा मात्रै धेरै सम्पदा छन्। तर त्यसका बारे जान्न चाह्यो भने कसलाई सोध्ने, कहाँ खोज्ने? सबै जानकारी सजिलै सबै भाषामा भेटिँदैनन् पनि। त्यहि उत्सुकताले सारङ बनाउन हामी प्रेरित भयौं।’
सन्तोषको टिमलाई स्थानीय पर्यटक र विदेशी पर्यटकसँगको सोधपुछपछि क्युआर सजिलो माध्यम होला भन्ने लाग्यो। अहिले सजिलै कयुआर गरेर सारङ वेबसाइट मार्फत ४५ वटा ऐतिहासिक धार्मिक सम्पदाको ५ वटा भाषामा जानकारी उपलब्ध छन्। काठमाडौं, पोखरा, गोरखा, झापा, मुग्लिन, मकवानपुर, पाँचखाल, भक्तपुर, ललितपुर र दक्षिणकालीका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा समेटिएका छन्।
स्थानीय सरकारसँगको सहकार्यमा सम्पदा नजिक क्युआरको व्यवस्था गर्ने र पर्यटकले सहजै क्युआरको माध्यमबाट आफूलाई सहज हुने भाषामा सुन्न र पढ्न सक्ने छन्। विद्यार्थी आफूले र विद्यालयको सहयोगमा ५० हजारबाट सुरु भएको सारङ अहिले ऐतिहासिक कथाको फराकिलो प्लेटफर्म बन्ने बाटोमा छ। ‘हाम्रो वेबसाइटमा पोडकास्ट छ,’ २२ वर्षिय सचिनले भने, ‘त्यसमा यहाँ भ्रमण गरिसकेका पर्यटकको अनुभव समेत हुनेछ। यसले पर्यटक भित्र्याउन मद्दत गर्नेछ। सम्पदा भ्रमण गर्दा हरेक कुनाकाप्चामा क्युआरको माध्यमबाट पर्यटकलाई आवश्यक अध्ययनको सबै सामग्री यहाँ उपलब्ध हुनेछ।’
सारङगी बजाउँदै गाइनेले कथा र खबर अरु ठाउँमा फैलाउने पुरानो अभ्यासबाट प्रेरित छ, सारङको अर्थ। सारङ टिममा २० वर्षदेखि २३ वर्ष उमेरका पाँच जना विद्यार्थी छन्।
सारङ कम्पनीका लागि धेरै ठाउँबाट लगानीको प्रस्ताव आउन थालेपछि उनीहरु हौसिएका छन्। विद्यार्थीबाट स्टार्टअप करियरतर्फ अघि बढेका सारङ टिमले यो एक वर्षमा पाठ्यक्रमले नदिएको धेरै अनुभव संगालेका छन्। ‘हामीले पढ्ने धेरै केस स्टडिज विदेशका परिवेशका हुन्छन्,’ टिमका अर्का सदस्य सुशान्त गैरे भन्छन्, ‘तर व्यवहारमा हेर्दा नेपाली परिवेशमा यी कुरा मेल खाँदैनन्। हामीसँगै धेरै चुनौती छन्। बजार बुभm्न नै पहिलो समस्या छ यहाँ। हामीलाई विद्यार्थी भएकै कारण सरकारी कार्यालय र कर्मचारीबाट प्रोत्साहन गर्नु हुन्छ। तर जब विजनेसको कुरा आउँछ, तब उमेरलाई लिएर अनेक अविश्वास सुरु हुन्छ।’
अध्ययन र व्यवसायलाई सँगै डोर्याइरहेको सारङ टिमले सारङलाई आफ्नो व्यवसायिक जीवनको महत्वपूर्ण पाटो बनाएको छ। सिइओ सचिन भन्छन् ‘जहाँ कथा छ, त्यहाँ हाम्रो बिजनेस छ। कथा नभएको गल्ली नेपालमा सायदै होलान्। ’
काठमाडौंबाहिर ‘हाइब्रिड क्लाउड किचन’
नयाँ व्यवसायका लागि काठमाडौं नै रोज्ने धेरै व्यवसायीको भिडबाट बाहिर छ, क्षितिज दाहालको ‘हाइब्रिड क्लाउड किचन’। इटहरीको चोकमा पाक्ने मिठा परिकारलाई ग्राहकको घरदैलो सम्म पुर्याउने काम भने वोवा फ्रेसले गर्छ।
इनरुवामा जन्मिएका क्षितिजलाई काठमाडौंसँग कुनै लगाव छैन। हुन त अध्ययनका लागि सन् २०१० तिर उनी काठमाडौं नै आएका थिए। यहाँ डेढ वर्ष निजी संस्थामा सफ्टवेयर बनाउने काम पनि गरे। तर, त्यसपछि फेरि पूर्वै फर्किए, इटहरी।
उनले इटहरीमा ९ वर्षदेखि सफ्टवेयर कम्पनीको काम गरिरहेका छन्। उनका लागि व्यवसाय भोक हो। भन्छन्, ‘एक चोटि खाएपछि मेटिन्छ। तर फेरि लागिहाल्छ। बोवा फ्रेस मेरो दोस्रो भोक हो। ’
लोकल सपोर्ट र सानो लगानीमै व्यवसाय खोल्न सकिने हुँदा इटहरी रोजेको बताउने दाहालले स्टार्टअप अनुभब सुनाए– ६ महिनाअघि २५ लाखको लगानीबाट सुरु गरेको बोवा फ्रेसमा दैनिक २० भन्दा बढी अर्डर आउँछ। पाँच सयभन्दा बढी मेम्बर बनिसके। म आत्तिएको छैन, अझ भनौं आशावादी छु।’
जहाँ जसले जस्तो परिकार रुचाउँछ त्यहाँ त्यस्तै खानेकुरा उपलब्ध गराउने बोवा फ्रेसको आफ्नै किचन छ, ‘हाइब्रिड क्लाउड किचन’। किचनमा एघार जना स्टाफ छन्। दाहाल भन्छन्, ‘अहिले चोकमा छौ, अब मिनि किचेन मार्फत सबै ठाउँमा खोल्ने तयारी सुरु भएको छ। गृहिणीहरुलाई तालिम दिएर घरमै मिठो परिकार बनाउने तयारी पनि सुरु गरेका छौं।’
इटहरीको सेन्ट्रल किचेनले चोकबाट ६ किलोमिटरभित्र फ्रि डेलीभरी गर्दै आएको छ।
स्टार्टअप व्यवसायीले चुनौतिका बिच सम्भावना खोजेर हिँडेका हुन्छन्। क्षितिज तीनैमध्ये एक हुन्। सहरमा मन नअडे पनि भविष्यमा आफ्नो व्यवसाय टिकाउने मात्र हैन, फैलाउने सपना बोकेका छन् उनले। ‘तर, अहिले चाहिँ व्यवसायलाई बृहत् बनाउन पर्याप्त लगानीको खोजी गरिरहेको छु,’ उनले भने।
वेदाः डिजिटल अध्ययनमा सारथी
डिजिटल अध्ययन प्रणालीको दुनियाँमा छुट्टै पहिचान बनाउँदै छ, एजुकेसन एप– वेदा। कम्प्युटर इन्जिनियर निर्देश दवा र उनका अरु दुई पार्टनरको संयुक्त प्रयासबाट बनेको वेदाले कोभिड महामारीको समयमा अनलाइन कक्षामात्रै सञ्चालनमा ल्याएन, विद्यार्थी, अभिभावक र विद्यालयबीचको सञ्चार र सहकार्यलाई समेत सहज बनायो।
वेदा एपमार्फत हाजिर, होमवर्क, विद्यार्थीको निगरानी देखि पठनपाठन अनि परिक्षा लगायत विद्यालयका सबै क्रियाकलाप गर्न सकिन्छ। सबै काम एउटै क्लाउड बेस्ड स्कुल सफ्टवेयरमा हुन्छ।
सन् २०१६ देखि सुरु भएको वेदा शिक्षा क्षेत्रमा फैलने क्रममा छ। सेन्ट जेभियर्सदेखि सुरु भएर अहिले ८ सय शैक्षिक संस्थाहरु यसको सेवाग्राही छन्। ६८ हजार शिक्षक–शिक्षिकाले र ८ हजार विद्यार्थीले यसको प्रयोग गर्दै आएका छन्।
लकडाउनको समयमा धेरै विद्यालयले वेदा एपमार्फत पठनपाठन गरेका छन्। भक्तपुर, चितवन, हेटौंडा, नवलपरासी, इटहरी, ललितपुर र काठमाडौंका ५० विद्यालयमा यसको प्रयोग भइरहेको छ। ‘५० हजारको लगानीबाट सुरु भएका थियौं। अब अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने तयारीमा छौं,’ वेदाका सञ्चालक निर्देशले बताए।