सोमबार, असोज १२, २०८३

५ लाख राशिको प्रज्ञान पुरस्कार हिमालय शमशेरलाई

रुद्रगौरी, अम्बिका ओली प्रतिष्ठानले यसवर्ष रु पाँच लाख राशिको पुरस्कारबाट हिमालय शम्शेर जबरलाई सम्मानित गर्ने भएको छ।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

झापा- रुद्रगौरी, अम्बिका ओली प्रतिष्ठानले यसवर्ष रु पाँच लाख राशिको पुरस्कारबाट हिमालय शम्शेर जबरलाई सम्मानित गर्ने भएको छ। पहिलोपटक स्थापित श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कारबाट उनलाई सम्मान गर्न लागिएको हो। 

प्रतिष्ठानले विदेशी मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउन उल्लेख्यनीय कार्य गरी नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन योगदान पुर्‍याएवापत उहाँलाई सो पुरस्कार वितरण गर्न लागेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले आगामी वैशाख ६ गते काठमाडौँमा कार्यक्रममा आयोजना गरी पुरस्कार वितरण गर्ने भएको छ। पुरस्कृत हुनेमा सुभद्रा–मदन फाउण्डेशन र चन्द्रागिरि मेसिनरी उद्योग, युवती खड्का केसी, विवश पोखरेल पनि छन्।

रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित सुभद्रा–मदन फाउण्डेशन र चन्द्रागिरि मेसिनरी उद्योगलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। पुरस्कार राशि एक लाख एक हजार १११ रहेको छ। कृषि क्षेत्रको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनीहरूलाई पुरस्कृत गर्न लागिएको हो। 

गौरादेवी स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार काठमाडौँ निवासी युवती खड्का केसीलाई प्रदान गरिने भएको छ। उहाँलाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई पुनःस्थापना तथा सेवा, महिलाको आर्थिक सशक्तीकरण योगदान पुर्‍याए वापत रु एक लाख एक हजार १११ राशिको पुरस्कार प्रदान गर्न लागिएको हो।

अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यसवर्ष विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील मोरङ विराटनगर निवासी साहित्यकार विवश पोखरेललाई प्रदान गरिने अध्यक्ष ओलीले जानकारी दिए। पुरस्कार राशी रु एक लाख एक हजार १११ रहेको छ। 

‘रूद्रगौरी, श्री–अम्बिका ओेली प्रतिष्ठान’ समाजमा भएका अनुकरणीय कार्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो।

प्रकाशित: Apr 01, 2022| 20:26 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्