मंगलबार, असोज १३, २०८३

बिमाको दाबीभुक्तानी समयमै गर्नुस् : अध्यक्ष सिलवाल

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सकेसम्म छिटो दाबी भुक्तानी गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन्।
 |  शुक्रबार, चैत १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १८, २०७८

काठमाडौं- बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सकेसम्म छिटो दाबी भुक्तानी गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन्। निर्जीवन बिमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बिमा सर्भेयर संघका पदाधिकारीहरूसँग बिहीबार छलफल गर्दै मसित अध्यक्ष सिलवालले यस्तो निर्देशन दिएका हुन्। 

'बिमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कनका साथै बिमा कम्पनीबाट पनि समयमा नै बिमा दाबीको भुक्तानी भए बिमा बजारमा विश्वास बढ्छ र बिमाको दायरासमेत बढ्छ,' उनले भने, 'प्रत्येक वर्ष बिमाको कारोबार बढ्दै गएको छ। जोखिमका प्रकार बढ्दै छन्। बिमाको दाबी बढेको छ। बिमा सर्भेयर क्षति मूल्यांकनका लागि समयमा नगएका धेरै गुनासा आएका छन्। सर्भेयरको व्यवहार राम्रो भएन भन्ने पनि गुनासा छन्।' 

अध्यक्ष सिलवालले सर्भेयरले पनि जिम्मेवार भएर काम गर्नुपर्ने बताए। 'बिमा कम्पनीले पनि दाबी-भुक्तानी र बिमा सर्भेयर शुल्क ढिलाई नगरी भुक्तानी गर्नु पर्‍यो। पशु मर्‍यो, बाली बिग्रियो, बिमा रकम पाइएन भन्ने गुनासा आउनु भएन, पीडितले समयमा नै बिमा रकम पाउनु पर्‍यो, कमीकमजोरीलाई सुधारेर अगाडि बढ्नु पर्‍यो,' उनले भने। 

आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बिमा क्षेत्र सबैभन्दा अगाडि हुने उल्लेख गर्दै उनले देशका हरेक नागरिकले बिमाबाट प्रतिफल पाउन सक्ने वातावरण बनाउन आग्रह गरे। बिमा जोखिमको बेलाको साथी बन्नुपर्ने उनको भनाई थियो।

बिमा समितिले राष्ट्रिय बिमा नीति ल्याउन र त्सस अनुसार प्रदेश तथा स्थानीय तहमा बिमा नीति निर्माण गर्न पहले गरे अनुसार त्यसले सार्थकता पाउन थालेको जिकिर गरेका छन्। 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा सर्भेयरहरू स्वतन्त्र भएकाले स्वतन्त्ररूपले क्षति मूल्यांकन प्रतिवेदन तयार गरी छिटोभन्दा छिटो बिमा कम्पनीमा बुझाउनुपर्ने बताए। 

बिमा समितिका उपनिर्देशक विरोध भट्टले बिमा सर्भेयर सम्बन्धी व्यवस्था बारेको जानकारीमूलक प्रस्तुति गरेका थिए। नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री र बिमा सर्भेयर संघका अध्यक्ष मोहनपुरूष ढकाल, समितिका निर्देशकहरू कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल(अधिकारी) र दिनेश कुमार लाल, निर्जीवन बिमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरू तथा सर्भेयर संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: Apr 01, 2022| 16:05 शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्