मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'बिमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा आएको छ'

'बिमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धिको निर्णय सबैको हितमा आएको छ'

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बिमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बिमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको बताएका छन्।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बिमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बिमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको बताएका छन्।

ललितपुरको कुपण्डोलस्थित बिमा समितिको कार्यालयमा बिमा कम्पनीहरूका सञ्‍चालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा आज भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो गृहकार्य गरेर बिमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट गरे।

'बिमा कम्पनीहरूको पूँजी कम छ,कम्पनीहरूको मुनाफा घट्दैछ, प्रशासनिक लागत बढ्दैछ, बिमाको दायरा बढ्दै गएको छ, कम्पनीहरूको दक्षता बढ्न सकेको छैन,' अध्यक्ष सिलवालले भने, 'बिमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो, पूँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो, पूँजी पुर्‍याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पूँजी हो, यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ।'

अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने जानकारी दिँदै तोकिएको अवधिभित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्‍याउन नसके मर्जरमा जान बिमा कम्पनीहरूलाई आग्रह गरे।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पूँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको जानकारी दिए।

कार्यक्रममा बिमा कम्पनीका संचालक समितिका अध्यक्षहरूले बिमा समितिले गरेको चुक्ता पूँजी वृद्धिको निर्णय पालना गर्न आफूहरू तयार रहेको बताउँदै पूँजी वृद्धिमा समस्या परे त्यसको समाधान गर्न अभिभावकका रूपमा बिमा समिति तयार हुनुपर्ने बताए। कार्यक्रममा बिमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लाल सहभागी थिए। 

प्रकाशित: Mar 31, 2022| 18:51 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्