मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दरबारमार्ग व्यापार मेला वैशाख तीन गते, स्वदेशी उत्पादनको प्रवर्द्धनमा जोड

दरबारमार्ग व्यापार मेला वैशाख तीन गते, स्वदेशी उत्पादनको प्रवर्द्धनमा जोड

आगामी वैशाख ३ गते १५ औं “दरबारमार्ग महोत्सव” हुने भएको छ।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं– आगामी वैशाख ३ गते १५ औं “दरबारमार्ग महोत्सव” हुने भएको छ। उद्योगी–व्यापारीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराएको हो। 

दरबारमार्गको दक्षिणतर्फ राजा महेन्द्रको शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्रहालय गेटको ट्राफिक पोलसम्म महोत्सव सञ्चालन हुनेछ। वैशाख ३ गते बिहान १० बजे सातै प्रदेशको संस्कृति झल्कनेगरी विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुति गर्ने महासंघको योजना छ। महोत्सवको मुख्य उद्देश्य नै नेपाली खाना तथा नेपाली कलासंस्कृति झल्कने उत्पादनहरुको प्रस्तुति गरी आन्तरिक पर्यटकलाई आकर्षण गर्ने तथा स्थानीय उत्पादन प्रवर्द्धन हो। यसरी सांस्कृतिक झलकहरु प्रदर्शन गरेपछि ११ः३० बजे महोत्सव औपचारिक शुभारम्भ हुनेछ। 

महोत्सवमा दीपक बज्राचार्य, समृद्धि राई वीद व्याण्ड, सुवानी मोक्तान, सन्दीप क्षेत्री, शास्त्रीय सांगीतिक समूह सुरसुधा, सृष्टि केसी एण्ड ब्लाइन्ड रक्स, रुशान एण्ड लज्जु, एभरेष्ट क्रु, महेश काफ्ले, राजनराज शिवाकोटी, मेलिना राई र भेकले प्रस्तुति दिनेछन्। प्रस्तुति बेलुकी ८ः१५ सम्म जारी रहनेछ।

महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष शेखर गोल्छाले कोरोना महामारीबाट थलिएको पर्यटन उद्योगलाई दरबारमार्ग महोत्सवले राहत दिने विश्वास व्यक्त गरे। महोत्सवसँगै देशको सामाजिक, आर्थिक र पर्यटन क्षेत्र उत्साहमय हुने अपेक्षा राखिएको उनको भनाइ छ। 

महोत्सवमा ६० स्टल राखिनेछ। तीमध्ये ३५ स्टलबाट नेपाली परिकार सहितका खाना बिक्री गरिने छ। बालबालिकाका लागि छुट्टै किड जोन र शारीरिक क्षमता भिन्न भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्री पनि त्यहाँ प्रदर्शन गरिने छ। महोत्सवमा प्रवेश निःशुल्क हुनेछ।

एफएनसीसीआईको नेतृत्वमा दरबारमार्ग विकास बोर्ड, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) र दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सहकार्य गरी मेला आयोजना गरेका हुन्।


प्रकाशित: Mar 31, 2022| 16:55 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्