मंगलबार, असोज १३, २०८३

पूर्वी चितवनमा १३२ केभी सबस्टेसन उद्घाटन

सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२–३३–११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं– सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२–३३–११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गरेका हुन्।

चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो। मकवानपुरको हेटौंडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको छ। हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसनमार्फत त्यस क्षेत्रमा आपूर्ति गरिएको छ। 

कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विगतमा आफू प्रधानमन्त्री हुँदा ऊर्जा क्षेत्रमा सशत्त टिम बनाएर मुलुकबाट लोडसेडिङ अन्त्य गरेको उल्लेख गर्दै अहिले विद्युत निर्यात गर्ने अवस्थामा पुगिएको बताए। उनले मलुकका मुख्य सहर तथा औद्योगिक क्षेत्रहरुमा ५० वर्षसम्मको विद्युत मागलाई धान्ने गरी विद्युतीय संरचनाको पूर्वाधार निर्माण गर्न आग्रह गरे।

चितवनबाट संघीय सांसद समेत रहेका प्रचण्डले पूर्वी चितवन सबस्टेसनबाट चैनपुरसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा सहयोग गर्न स्थानीयलाई अनुरोध गरे। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउन विद्युतको महसुल सस्तो बनाइएको बताइन्।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन संचालनमा आएपछि यस क्षेत्रको प्राविधिक चुहावट घटेको, ग्राहकले गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् पाएको र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य भएको बताए। सबस्टेसनबाट ११ केभी फिडरमार्फत राप्ती र खैरहनी नगरपालिकामा विद्युत आपूर्ति भइरहेको छ। यसबाट करिब ४० हजार ग्राहक लाभान्वित भएका छन्। 

यस सबस्टेसनबाट चितवनकै पर्सा सबस्टेसनमा जोडी कालिका र रत्ननगर नगरपालिकामा विद्युत आपूर्ति ३३ केभी नयाँ लाइन निर्माण भइरहेको छ। सबस्टेसनदेखि चैनपुरसम्म निर्माण गर्नु पर्ने साढे ८ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा स्थानीय बासिन्दाको अवरोध रहेको  प्राधिकरण, प्रसारण निर्देशनालयका उपकार्यकारी दीर्घायुकुमार श्रेष्ठले बताए। पूर्वी चितवन सबस्टेसन निर्माण २०७५को जेठबाट सुरु भएको थियो। 

प्रकाशित: Mar 30, 2022| 16:03 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्