काठमाडौं- नगर विकास कोषको दमक सपिङ कम्प्लेक्समा करिब ४३ करोड रुपैयाँ ऋणका रूपमा लगानी गर्ने भएको छ। ६१ करोड रुपैयाँ अनुमानित लागत भएको 'दमक सपिङ कम्प्लेक्स' बनाउन ऋण प्रवाह गर्ने गरी कोष र दमक नगरपालिकाबीच सम्झौता भएको हो।
सम्झौतामा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोषले ४२ करोड ८० लाख रुपयाँ रकम दमकलाई ऋण प्रदान गर्नेछ। यो कुल अनुमानित लागतको ७० प्रतिशत रकम हो।
दमक नगरपालिकाको करिब ८ कठ्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रुपमा लिएको छ।सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखले ओलीले गुणस्तरीय रुपमा आधुनिक प्रविधियुक्त आयोजनाको रुपमा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले आधुनिक सेवा सुविधा, सुरक्षा तथा प्रविधिको हरेक पक्षलाई समेटर तयार भएको यो आयोजना नगरपालिकाको आइकनिक आयोजनाको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे।
आधुनिक सहरी सेवा सुविधा विस्तारका लागि नगरपालिकाको सहरी पूर्वाधार विकासमा लगानी बढाउन पाएकोमा खुशी व्यक्त गरेका छन्।