स्थानीय तहको चुनावअघि वडाहरुले के–के गरिदिए हुन्थ्यो वा गर्न सक्छन् त भन्ने सन्दर्भमा म यो आलेख लेख्दैछु। मेरो आलेखका बुँदाहरु दलले आफ्नो घोषणापत्रमा समावेश गरे भने एक मतदाताको नाताले म एकदम खुसी हुनेछु। खासमा लोकल इलेक्सन इलेक्सन भन्दा पनि लोकल सेलेक्सन हो जस्तो मलाई लाग्छ।
राष्ट्रिय नेतालाई देशको भन्दा स्थानीय नेतालाई आफ्नो गाउँको बढी माया हुन्छ होला भन्ने मेरो मान्यता रहँदै आएको छ। त्यसैले पनि स्थानीय तह वा वडा आफैंले इमान्दार भएर गर्ने हो भने वडाहरुमा सकारात्मक परिर्वतनको लागि लामो समय कुर्नु नपर्ने जस्तो लाग्छ। वडा अध्यक्ष वा स्थानीय तह प्रमुख–उपप्रमुख जित्नकै लागि मात्र होइन र आफ्नो तहमा साँच्चै नै परिर्वतन चाहनुहुन्छ भने यसो गर्नुहोला।
१) धर्म भकारी स्थापना
हाम्रोतिर एउटा पुरानो प्रचलन थियो भुमे डालीको। यो भनेको के हो भन्नुहुन्छ भने प्रत्येक वर्ष अन्नपात भित्र्याउँदै गर्दा जमिनको प्रयोग गरी पृथ्वीलाई दुःख दिएबापत क्षमा याचना स्वरुप भुमे पूजा गर्ने गरिन्थ्यो। यसरी एक हिसाबले पृथ्वीलाई उधिनेर गरेको पाप नलागोस् भनि प्रत्येक घर कुरियाले एक पाथी अन्न मुख्य राशबाट पहिला छुट्याएर राख्थे र पुजारीको घरमा लगिदिन्थे। यसरी डालीमा राखेर लगिदिने हुनाले नै यसलाई भुमे डाली भनिएको हो।
मेरा बुबा हजुरबुबाहरु पुजारी भएकोले प्रत्येक वर्ष प्राप्त हुने अन्न परम्पराको आधारमा मैले यो अवधारणा सोचेको हुँ। अब यसलाई अलिकति परिमार्जन गरौ। अचेल गाउँ घरतिर न त यस्ता पूजाहरु साविकको उत्साहका साथ हुने गर्छन् न त पुजारीहरु नै यस कार्यमा उस्तो उत्साहपूर्वक सहभागी हुन्छन्। त्यसैले प्रत्येक घरधुरीबाट ५ पाथी अन्न भुमे डाली स्वरुप संकलन गरौं र वडाको पायक पर्ने ठाउँमा एउटा धर्म भकारीको स्थापना गरौं। जनगणना २०७८ अनुसार नेपालमा ५६,४३,९४५ घरधुरी छन् यदि यसलाई ६,७४३ वडामा मिलान गर्ने हो भने एक वडामा करिब ८३७ घरधुरी छन्। ५ पाथीको दरले ८३७ घरधुरीबाट ४,१८५ पाथी (करिब २१० मुरी) अन्न संकलन हुन आउँछ। उक्त अन्न सोही वडाभित्र सोही वर्षमा कुनै प्राकृतिक प्रकोप, दुर्घटना र आगलागीबाट क्षति पुग्न जाने परिवारमा राहत स्वरुप वितरण गरौं। यसो गर्न सकेको खण्डमा राज्यलाई विपद् व्यवस्थापनमा स्थानीय तहले ठूलो सहयोग गर्न सक्छन्।
म पर्वतबासी भएकोले यहाँको उदाहरण पेश गर्न चाहन्छु। पर्वतको हकमा विहादी गा.पा. का ३०६३, जलजला गा.पा. का ५१४०, कुश्मा न.पा. का ९७४०, महाशिला गा.पा. का १९६४, मोदी गा.पा.का ४६१८, पैयु गा.पा.का २९९५ र फलेवास न.पा. का ५५२९ घरधुरी गरी कुल ३३०४९ घरधुरीबाट १,६५,२४५ पाथी (करिब ८२६३) अन्न संकलन हुन आउँदो रहेछ। जसलाई मूल्यमा रुपान्तरण गर्दा (१ पाथीलाई सरदर १८० राख्दा) २,९७,४४,१०० रुपैयाँ हुन आउछ। वडाको यो कदमले नागरिकलाई कुनै आयभार नपारी समाजसेवा गर्न सक्ने रहेछन्। यदि उक्त वर्षभित्र वडामा कुनै मानवीय वा प्राकृतिक दुर्घटना भएन भने उक्त अन्न बिक्री गरी वडाभित्रकै किसानको हकहितको लागि प्रयोग गर्न सकिन्छ। त्यसैले वडाहरुलाई मेरो अनुरोध यस्तो सुन्दर बाटो प्रयोग गरी समाजसेवा गर्ने महत्वपुर्ण अवसरको प्रयोग गर्नुहोस्।
२) कपडा बैंक सञ्चालन
वडाभित्र प्रयोग हुन सक्ने तर प्रयोगकर्ताले प्रयोग नगरेका कपडाहरुको लागि एउटा संयन्त्र बनाएर पुराना कपडा संकलन गर्ने परिपाटी कायम गराउनुहोस्। कसैलाई झन्झट बनेका कपडाहरु कसैलाई न्यानो र सुरक्षाको स्रोत बन्न सक्छन्। अथवा फोहोरको रुपमा फालिने कपडाहरु संकलन गरेर सिरक डसना वा फर्निचर (सोफा प्रयोजन) कम्पनी हरुलाई बिक्रीवितरण पनि गर्न सक्नुहुन्छ।
३) धातुजन्य निर्माण सामग्रीमा रोक
नेपाल सरकारको तथ्यांकअनुसार नेपालमा २२ हजारभन्दा बढी सामुदायीक वन छन्। जसमा पक्कै पनि काम लाग्ने काठहरु छन् होला तर पछिल्लो समय झ्याल ढोका समेत धातुका प्रयोग हुन थालेका छन्। फलस्वरुप अर्बौं रुपैयाँ बाहिरिएको अवस्था छ। घोडा र वन बाँधेर राख्यौं भने छिट्टै नै बूढा हुन्छन् रे। त्यसैले वन फडानी र कार्बन ब्यापारको अनावश्यक डर र लोभ देखाएर वन गोडमेल हुन छाडेको अवस्थामा वडाभित्र अत्यावश्यक बाहेक अन्य अवस्थामा धातुका निर्माण सामग्रीमा पूर्ण रुपमा रोक लगाउनुहोस्। काठ नविकरणीय स्रोत पनि हो र प्रदुषण मुक्त पनि हुन्छ।
यसैले काठ सहजताका लागि आवश्यक नीति निर्माण वा कानुनले दिएको छुटको प्रयोगको लागि अग्रसरता देखाउनुहोस्। आफ्ना वडाका बस्तीहरुलाई काष्ठकलाको सुन्दर उदाहरण बनाउनुहोस्। तपाईं–हामी आज पनि घान्द्रुक, घलेगाउँ, वारपाक जस्ता ठाउँमा पुग्न किन लालायीत छौं भने त्यहा परम्परागत वास्तुविद्याका घरहरु छन् जहाँ सिमेन्ट र धातुको घिनलाग्दो समिकरण प्रयोग गरेर घरहरु निर्माण भएका छैनन्। सुरुमा अलिकती विरोध हुन सक्छ तर तपाईं जिम्मेवार मान्छे हो र यसको जिम्मा लिन तपाईं सक्षम हो भनेर नै तपाईंले चुनाव जित्नु भएको हो। यो खालको चेतना समाजमा विकसित हुँदै गएको छ र तपाईंले कोसिस मात्र गरिदिनु भयो भोलीको पुस्ता हामी सँग खुसी हुनेछ।
४) संस्कृति
वडा तहले आफ्नो वडामा सबै भन्दा बढी गर्न सक्ने काम संस्कृति संरक्षण र संस्कृतिकै आधारमा समाजलाई एकताबद्ध, समृद्ध र सम्पन्न पार्न सक्छन्। यसको लागि वडा भेला गरेर एउटा धार्मिक कानुन निर्माण गर्न सकिन्छ। मलाई लागेका केही उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु। पछिल्लो समय चाडपर्वहरु महँगा र केही भद्दा बन्दै गइरहेका छन्। जसका लागी वैशाखे संक्रान्ती र माघे संक्रान्ती बाहेकका सूर्यमासमा आधारित पर्वहरु नमनाउने गरी निरुत्साहित गर्न सकिन्छ। चन्द्रमास अन्तर्गतका पर्वहरुलाई उल्लासमय रुपमा सामुहिक तवरले उत्सवमय रुपमा मनाउन सकिन्छ। यस्ता पर्वहरुमा आर्थिक भार बढ्दै गएकोले तीनिहरुलाई मितव्ययी र सांस्कृतीक स्वरुपमै मनाउने गरी पालना गराउन सकिन्छ। फास्टिङ कल्चर अनिवार्य गरि सर्वसाधारणको स्वास्थ्य सुधारको लागि एकादशी जस्तो महत्वपूर्ण ब्रत अनिवार्य गराउन सकिन्छ। विवाह जस्ता कार्यहरु निकै नै महँगा हुँदै गएका छन्। दाइजो प्रथा खुलेर नभए पनि अनावश्यक बोझको रुपमा समाजमा परम्परादेखि नै स्थापित छ।
दाइजो सामाजिक प्रतिष्ठासँग जोडिएको ज्यानमारा र घातक प्रवृत्तिहो यसको लागि वडाले छुट्टै व्यवस्था गरेर सके निर्मुलिकरण नसके न्यूनिकरण गर्न अपरिहार्य भैसकेको छ। त्यस्तै भोजभतेर र अनावश्यक रवाफलाई नियन्त्रण गर्न जन्ती संख्या र भोज भतेरको निश्चित मापदण्ड तयार गर्न सकिन्छ। इमान्दार इच्छाशक्ति हुने हो भने यो कुरा वडाअध्यक्ष निर्वाचित भएको एक महिना भित्रै गर्न सकिन्छ। मृत्यृ शोकमा ब्यानर बोकेर जाने प्रदर्शनमुखी सोच पछिल्लो समय विकसित भएको तर मलाई मन नपरेको विषय हो। ब्यानर टाँसेर मृत्यु शोक मनाउने तरिका पूरै प्रदर्शनमुखी र उत्ताउलो कुरा हो। सहानुभूति र ढाडसको लागि सके आर्थिक नभए शाब्दिक सहानुभूति भौतिक रुपमा उपस्थित भएर बिना ब्यानर प्रस्तुत गर्ने परिपाटी बसाल्न आवश्यक पहलकदमी लिनुहोस्।
५) पर्यावरण
सबैभन्दा संकटमा अहिले पर्यावरण छ। हामी आफ्नो घरआँगन सफा र स्वच्छ राख्न सबै प्रकारका विधी र प्रविधी अपनाउँछौं तर खुद घर आँगन रहने वा बाँच्ने पर्यावरण संरक्षणमा हाम्रो चासो छँदैछैन। यसको लागि वडाभित्र निम्न कामहरु गर्न सकिन्छ।
क) प्लाष्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध गर्नुहोस्।
ख) प्लाष्टिकजन्य फोहोर न्युनिकरण तथा जलाएर फोहोर न्युनिकरण गर्ने तरिकालाई कठोर नीति र सजायको व्यवस्था गर्नुहोस्।
ग) हरेक नागरिकलाई आफ्नो जन्मोत्सवको उपलक्ष्यमा कम्तीमा एक वटा बिरुवा हुर्किने गरी रोप्नुपर्ने बाध्यकारी व्यवस्था गर्नुहोस्।
घ) आवश्यकता अनुसार स्थानीय सहभागीतामा सार्वजनिक शौचालयको व्यवस्था गर्नुहोस्।
ड.) आवश्यक चेतनाको लागि खुला पुस्तकालयको स्थापना गर्नुहोस्।
च) पानी जिवन भएको हुनाले मूल संरक्षणको लागि आवश्यक सबै काम गर्नुहोस्।
म एक सामान्य नागरिकको हैसियतले तपाईंहरुको सफल कार्यकालको कामना गर्छु।