काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपाल स्रोतसाधनले सम्पन्न गरिब भएको बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।
'हामी गरिब छैनौं, हामी स्रोतसाधनले सम्पन्न गरिब हौँ,' मन्त्री शर्माले थपे, 'किनकि उपलब्ध स्रोतसाधनको उपयोग हुन सकेको छैन।'
उनले संरचनात्मक विषय नसच्याई विकास गर्न नसकिने ठोकुवा गरे। उनले सामाजिक विभेदको अन्त्य गर्नु पनि नेपालको आवश्यकता भएको बताएका थिए।
'विकसित मुलुकको आर्थिक विकास भनेको अन्य मुलुकसँग प्रतिस्पर्धा गर्नु होला तर हाम्रो भनेको सामाजिक विभेदको अन्त्य गर्नु हो,' मन्त्री शर्माले भनेका थिए, 'हामीसँग भएको स्रोत साधनको उपयोग गर्ने आवश्यकता हो। हाम्रा संस्थाहरु कमजोर छन्। यिनलाई मजबुत बनाउनु पर्छ। जुन आजको मुलुकको आवश्यकता हो।'
नेपालमा अनुसन्धानको नीति नभएको र कपिपेस्ट मात्र भएको उनको स्वीकारोक्ति थियो। आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी उत्पादन बनाउनुपर्ने नेपालको चुनौती भएको उनले बताए।
उनले आफ्ना कारण अर्थतन्त्रमा हालको समस्या नआएको समेत दाबी गरे। 'मेरो अनुहार हेरेर यसले अर्थतन्त्र बिगार्यो भनेर भन्छन्। हिजोको नीतिले आज रिजल्ट दिएको हो। बजेट बनाउदा बाँझो खेततिर मेरा आँखा जानेछन्,' उनले प्रतिबद्धता जनाएका थिए।
उनले विद्युत उपयोग हुन नसकेको समेत दाबी गरे। कम्तीमा १० हजार मेगावाट बिजुली नेपालले नै खपत गर्नुपर्ने उनको भनाइ थियो।