मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डीडीसी महाप्रबन्धकमा सञ्जीव झा नियुक्त, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

डीडीसी महाप्रबन्धकमा सञ्जीव झा नियुक्त, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं- दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा नियुक्त भएका छन्। बलरा नगरपालिका-३ सर्लाही निवासी झालाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन्। 

 यस्तै सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्यूटी फ्री कोटा फ्री सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। 

मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययन सम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताए। 

प्रवक्ता कार्कीका अनुसार सरकारले चीन सरकारसँग भएको ‘इप्लीमेन्टेसन एग्रिमेन्ट अफ चाइना एड अन आयल एन्ड ग्यास रिसोसेस सर्भे प्रोजेक्ट नेपाल’ सम्झौताको दुई वर्ष समयावधि थप गर्ने र नेपाल–चीन सरकारबीचको ग्रेड आवद्धताको सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता स्वीकृत गरेको छ। 

त्यस्तै सरकारले कतारमा मार्च २६ र २७ मा सम्पन्न हुने दोहा फोरमको २०औँ संस्करणको सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीको भ्रमणमा समर्थन गर्ने निर्णयसमेत गरेको छ। 

यस्तै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायको आगामी चैत्र १८ देखि २७ गते सम्मको भारत भ्रमण स्वीकृत गरेको छ। प्रवक्ता कार्कीले सरकारले नेपाल राजश्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र डा. जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको पनि बताए। 

प्रवक्ता कार्कीले मन्त्रिपरिषद्ले जापानका लागि नेपालका पूर्व राजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने ‘द अर्डर अफ जापान, द अर्डर अफ राइजिङ सन गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान ग्रहण गर्न स्वीकृति समेत दिएको छ। 

चितवन इन्जिनियरिङ क्याम्पस रामपुर, चितवनलाई ब्याचलर अफ आर्किटेक्चरमा विद्यार्थी संख्या २४ जना सहितको नयाँ कार्यक्रम अध्ययन, अध्यापन गराउन अस्थायी मान्यता प्रदान गर्ने निर्णय भएको समेत प्रवक्ता कार्कीले जानकारी दिए। 

तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, लोकसेवा आयोग तथा न्यायसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ।

जनवादी गणतन्त्र चीन सरकारले प्रश्ताव गरेको आर्थिक तथा आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय समेत भएको उनले जानकारी दिए। 

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति समेत सरकारले बनाएको छ। 


प्रकाशित: Mar 29, 2022| 16:52 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्