काठमाडौं- सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि करिब १५ अंकले गिरावट आएको छ। पछिल्लो पाँच दिनदेखि लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि निरन्तरता पाएको हो।
मंगलबार नेप्से परिसूचक १४.२६ अंक घटेर २ हजार ५२७.५८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८० अंकले गिरावट आएको छ।
मंगलबार कारोबारमा आएका २२५ कम्पनीको ३८ लाख ९० हजार कित्ता सेयर १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। सोमबार साढे २ अर्ब बराबरको सेयर कारोबार भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहबाहेक अन्य १२ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.८३ प्रतिशत बढेको छ। यता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ।
मंगलबार नेप्से परिसूचक ओरालो लागे पनि ३ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इमर्जिङ नेपाल र नेस्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स र विशाल बजार कम्पनीको सेयर मूल्य पनि ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा करिब ८ करोडको सेयर कारोबार गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। ग्लोबल आइएमई बैंकको ७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।