मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बलेफी हाइड्रोको आईपीओ बुधबारदेखि [कम्पनी विश्लेषणसहित]

बलेफी हाइड्रोको आईपीओ बुधबारदेखि [कम्पनी विश्लेषणसहित]

बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्न लागेको छ।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

काठमाडौं– बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा १८ करोड २७ लाख ९७ हजारबराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले गर्न लागेको कुल निष्कासनबाट ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने छ। 

उक्त आईपीओमा सर्वसाधारणले बुधबार बैंकिङ कारोबार सुरु भएदेखि चैत २१ गते बैंकिङ कारोबार समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले ढिलोमा चैत ३० गतेसम्म आईपीओ भर्ने मिति सार्वजनिक गरेको छ। 

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाका वासिन्दालाई आयोजना प्रभावित क्षेत्रको लागि छुट्याउनुपर्ने व्यवस्था बमोजिम सेयर निष्कासन तथा बिक्री खुला गरी बाँडफाँटसमेत गरिसकेको छ। 

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार यो आयोजना निर्माणको लागि अनुमानित लागत ७ अर्ब ६५ करोड रहेको छ। 

कम्पनी विश्लेषण

यो कम्पनीले ‘कम्पनी रजिष्ट्रारको कार्यालय’मा पब्लिक लिमिटेड कम्पनीको रुपमा २०७३ पुस २२ गते दर्ता भई कारोबार सञ्चालन गर्दै आइरहेको छ। यस कम्पनीमा हाल १४ जना संस्थापक सेयरधनी रहेका छन्। कम्पनी ऐन अनुसार कम्पनीमा ८० प्रतिशत संस्थापक सेयर रहेको छ। आयोजना प्रभावितको लागि १० प्रतिशत केही समय अगाडि आईपीओ जारी गरेर छुट्याइएको छ भने बाँकी कर्मचारी सहित सर्वसाधारणको लागि भोलिदेखि आवेदन आह्वान गरिएको हो। 

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बीबी ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ।

कम्पनीको अधिकृत पुँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ। उक्त पुँजीलाई सय रुपैयाँका दरले २ करोड ४० लाख थान (कित्ता) सेयरमा विभाजन गरिएको छ। कम्पनीको जारी पुँजी १ अर्ब ८२ करोड ८९ लाख ७० हजार रुपैयाँ रहेको छ। 

कम्पनीले आफ्नो जारी पुँजीमध्ये १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रुपैयाँ संस्थापक सेयरधनीहरुबाट चुक्ता भइसकेको छ। बाँकी ३६ करोड ५५ लाख ९४ हजार सार्वजनिक सेयर निष्कासनद्वारा स्थानीय बासिन्दा तथा सर्वसाधारणबाट लिई १ अर्ब ८२ करोड ८९ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी हुनेछ।

कम्पनी सञ्चालकको अध्यक्षमा उमेश कसजु रहेका छन्। उनी १४ वर्षदेखि हाइड्रो क्षेत्रमा छन्। कम्पनीको सीईओमा राजन धिताल रहेका छन्। कम्पनीकै आवासीय इन्जिनियरको रुपमा कार्यरत रहेका धिताललाई कम्पनीको सञ्चालक समितिको बैठकले गत मंसिरदेखि सीईओमा नियुक्त गरेको हो। 

कम्पनीद्वारा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत खरिद–बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरिसकेको छ। सम्झौताबमोजिम प्राधिकरणले कम्पनीको विद्युत खरिद गर्नेछ। कम्पनीको जोखिम व्यवस्थापनका लागि नेको इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा बिमा गराएको छ। 

कम्पनीको सेयरको पहिलो कारोबार मूल्य न्यूनतम ९३ रुपैयाँ ५७ पैसादेखि २ सय ८० रुपैयाँ ७१ पैसाको बीचमा रहेर हुनेछ। कम्पनीको हालको नेटवर्थ ९३.५७ रुपैयाँ रहेको छ। कम्पनीले यसको तीन गुणासम्म ओपनिङ रेन्ज राख्न पाउँछ।

प्रकाशित: Mar 29, 2022| 13:33 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्