काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कृष्णकुमार श्रेष्ठले उक्त प्रणालीको सुरुआत गरेका हुन्।
कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त प्रणाली प्रयोगमा आएसँगै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएका, घटना घटेको एक वर्षभित्र पीडितले क्षतिपूर्ति दाबी गर्न सक्ने जानकारी दिए।
सेवा लिनुपर्ने नागरिकले वैदेशिक रोजगार वार्डको वेबसाइटमा गएर श्रमिक कल्याणकारी सेवाहरु प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनअनुसार श्रम स्वीकृति लिएर विदेश गएको नागरिकको हकमा उक्त सेवा प्राप्त गर्न सकिनेछ।
नियमावलीअनुसार मृत्यु, अंगभंग, गम्भीर बिरामी भएमा नियमानुसार पाइने आर्थिक सहायता, शैक्षिक छात्रावृत्ति, श्रमिकको परिवारले पाउने स्वास्थ्य उपचार खर्च र अलपत्र शव नेपाल ल्याउने, अलपत्र श्रमिकलाई नेपाल झिकाउने, निःशुल्क शव ढुवानी सेवालगायत सेवाहरू पीडितले प्रप्त गर्न सक्ने बताइएको छ।
योसँगै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको इच्छाइएको व्यक्तिले नियमानुसार पाउने बीमा रकमको भुक्तानीका लागिसमेत सेवाग्राहीले यस प्रणालीको प्रयोग गर्न सक्नेछ।
सोही अवसरमा मन्त्री श्रेष्ठले स्थानीय तहमा सूचीकृत बेरोजगारहरूलाई कार्यस्थलमा तालिम दिन ६ वटा विभिन्न विषयमा व्यावहारिक सीप तालिम उपलब्ध गराउने गरी पाठ्यक्रम निर्माण गरिएको जानकारी दिए।
त्यसैगरी नयाँ वैदेशिक रोजगार नीति तर्जुमाका लागि गृहकार्य अघि बढाएको, श्रमिक अस्पताल निर्माणका लागि तयारी अघि बढाइएको, विभिन्न मुलुकमा घरेलु कामदारका रुपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था भएको पनि जानकारी गराइएको थियो।