बुधबार, असोज १४, २०८३

चालु आर्थिक वर्षमा ९.९४ प्रतिशत खर्च

 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदासम्म जम्मा ९.९४ प्रतिशत बजेट खर्च गरेको छ। कार्यालयले दोस्रो चौमासिक सकिँदासम्म न्यून बजेट खर्च गरेको छ। चालु आवमा परिचालनका लागि भनेर कार्यालयमा आएको बजेट नौ करोड ९९ लाख ४२ हजार हो। 

त्यसमा चालुतर्फ नौ करोड २२ लाख ४५ हजार र पूँजीगततर्फ ७६ लाख ९७ हजार बजेट रहेको कार्यालयका सूचना अधिकारी एवम् कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए। उनका अनुसार अहिलेसम्म चालुतर्फ ९३ लाख ५० हजार अर्थात् १०.१३ प्रतिशत बजेट खर्च भएको छ। पूँजीगत भने ६ लाख ५० हजार अर्थात् ८.४८ प्रतिशत बजेट खर्च भएको सूचना अधिकारी एवम् कृषि अधिकृत बस्नेतले बताए। 

पूँजीगत बजेटतर्फको ७० लाख रकम स्याउ बगैँचा र कागती बगैँचा घेरबारका लागि भनेर आएको तर यसको कार्यविधि अहिलेसम्म कतै पनि नबनेकाले कार्यालयले सिस्ने–२ मा स्याउ प्रशोधन केन्द्र निर्माण गर्ने गरेर संशोधनको माग गरी पठाएको कृषि अधिकृत बस्नेतले बताउनुभयो। प्रदेश मन्त्रालयबाट संशोधन भई आएको खण्डमा यो ७० लाख बजेट खर्च हुने नत्र यो बजेट खर्च गर्न नसकिने उनको भनाइ छ। 

यस्तै दोस्रो चौमासिकमा कार्यालयले पाँच करोड ३५ लाख ३४ हजार बजेट खर्च गर्नुपथ्र्यो तर दोस्रो चौमासिकमा पनि १७.५२ प्रतिशत बजेट खर्च भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ। 

कार्यालयबाट ८५ प्रतिशत योजनाहरू सम्झौता भइसकेको बताउँदै कृषि अधिकृत बस्नेतले कतिपय किसानले काम गरेर पनि भुक्तानी लिन नआएका खर्चको प्रतिशत कम देखिएको बताउनुभयो। अधिकांश किसानले काम समयमै गरे पनि भुक्तानीका लागि असार मसान्त कुर्ने प्रवृत्तिले गर्दा खर्च कम देखिएको भनाइ उनको छ। 

साथै लुम्बिनी प्रदेश सरकार फेरिएर कात्तिकमा मात्र स्वीकृत कार्यक्रम आउँदा कार्यान्वयनमा पनि ढिला र प्रगति पनि कम हुन पुगेको कार्यालयले बताएको छ। नजिकिँदै गरेको स्थानीय तहको चुनावले प्रभाव पारेन भने चालु आवको अन्तिमसम्म ७५ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य कार्यालयको रहेको कृषि अधिकृत बस्नेतले बताए। 

प्रकाशित: Mar 27, 2022| 22:01 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्