काठमाडौं– आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हस्ताक्षर गरे।
सहमतिअनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्ष स्थापना गरिनेछ। सो कक्षमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ। समझदारीअनुसार महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रिय रुपमा आफ्नो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने छ। त्यसैगरी स्वदेश तथा विदेशमा लगानी सम्बन्धी रोड शोका अतिरिक्त महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्ने छ।
लगानी प्रवर्द्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्थाले निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्नेपनि समझदारीपत्रमा उल्लेख गरिएको छ। महासंघको अन्तराष्ट्रिय लगानी प्रवर्द्धन समितिले लगानी प्रवर्द्धनका लागि तयार गर्ने सवै दस्तावेजहरुमा बोर्डले पनि सहयोग गर्ने छ। त्यसैगरी दुवै संस्थाले लगानी सम्बन्धी तथ्यांक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, बाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन्।
महासंघले लगानीका अवसर सम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ। त्यसैगरी दुवै संस्थाले सबै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन्।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा लगानी बाेर्डका उपाध्यक्ष तथा अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवर्धनका लागि बाेर्ड र महासंघ बीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतीका दफाहरुलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए। महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवर्धनमा समझदारी कोशेढुंगा हुने बताए।