काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चाबी परराष्ट्रमन्त्री डा नारायण खड्कालाई बुझाएका छन्। शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेपछि विमानस्थलको चाबी चीनले बुझाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो। पोखरा विमानस्थल विस्तार तथा स्तरोन्नति भएपछि यसलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको छ।
चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदर कायम गरी पोखरा विमानस्थल बनाउन नेपाललाई २१ अर्ब ६० करोड रुपैयाँ ऋण दिएको थियो। सोही ऋणमार्फत अहिले विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। ५ अर्ब ४० करोड रुपैयाँको ब्याज तिर्नु नपर्ने गरी सम्झौता भएको थियो।
चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। विमानस्थल निर्माणअन्तर्गत अन्तिम चरणका काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ।