काठमाडौं- पर्वतको पाङमा जन्मिएका गीतकार प्रह्लाद सुवेदी सानोमा गाउँघरमा हुने रत्यौली र मठमन्दिरको भजन साँझमा पुगिहाल्थे। गीतका टुक्काले उनी लोभिन्थे। आफू पनि गीत गुनगुनाउँथे। काक्रोको झ्याङ थाक्रोमा झ्याङ्गिएझैं उनको मनमा पनि गीतसंगीत झ्याङ्गिदै गयो।
उमेर काँचो थियो। तर, रहर साँचो थियो। एसएलसी सकेर उनी २०५७ सालतिर काठमाडौं आए। प्रवीणता तहमा सुवेदीलाई संगीत पढ्न मन लाग्यो। संगीत पढ्नका लागि उनले काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत दाजुलाई प्रस्ताव पनि राखे। तर, दाजुसहित सिंगो परिवारले उनको इच्छालाई नकारिदियो।
‘किन नपढ्ने?’ उनी परिवारका सदस्यलाई प्रश्न गर्थे।
‘गीत संगीतमा भविष्य छैन’, उनलाई परिवारका सदस्यले भन्थे। अहिले पनि उनको दिमागमा ती घुमी रहन्छन्।
परिवारको निर्णयले उनी केही दिन निराश भए। शिक्षित परिवारले नै गीतसंगीतमा भविष्य नदेखेपछि आफ्नो रहरसँग रिस उठ्यो सुवेदीलाई। निश्चित समुदाय र वर्गले गाउनेबजाउने गर्छन् भन्ने भावनाबाट प्रेरित परिवारलाई उनले सम्झाउन सकेनन्। आखिरमा प्रह्लादले मन मारे। उनी भन्छन्, ‘गीतसंगीतमा लाग्दा भविष्य उज्जोल हुन्न भन्ने भएपछि रहरै मारेर मैले मेजर अंग्रेजी पढ्न थालेँ।’
संगीत पढ्ने धोको थियो। तर, समयले उनलाई अंग्रेजी साहित्य पढ्न बाध्य पार्यो। मन हो। मनले आफूभित्र रहेको प्रतिभा कहाँ अलग राख्न सक्थ्यो र? कनीकुथी गीत लेखिरहे। गुनगुनाई रहे। यही निरन्तरताले जीवनको चार दशकमै लोकसंगीतको क्षेत्रमा तीन सयभन्दा बढी गीत दिन सफल भयो।
०००
लाइयो माया पढ्ने बेलैमा
डाक्टर पाइलट इन्जिनियर भई हिँड्ने दिनैमा
हलो बोक्दै हिँड्छु मेलैमा
पचासको दशकको अन्ततिर यो गीत डायरीमा लेखेका थिए उनले। एसएलसी नदिँदै लेखेको गीत कुनै दिन रेकर्ड होला उनले सोचेका थिएनन्।
कसले भन्छ हरि
मनमा पिर नपरी।
काठमाडौंमा आएपछि गीतसंगीत खुबै सुन्थे। पढाइमा भन्दा पनि उनको ध्यान गीत लेख्ने, सुन्ने र गाउनेमा थियो। त्यसैले एकदिन जुर्यो गायक विष्णु खत्रीलाई भेट्ने अवसर। उनको गीत सुनेर हुर्किएका प्रह्लादलाई विष्णुको सफलता देखेर आफ्नो सफलता कल्पिन्थे।
भजन गायकले निकालेको शब्द–शब्दले उनलाई छुन्थ्यो। स्कुलका र मठमन्दिरमा भजन गाउँथे। उनी पनि भजनमा सामिल हुन्थे। आफ्नै गाउँघरको बोलीचालीका भाषालाई गीतको हरफहरूमा बुन्थे। स्कुलबाट आउजाउ गर्दा शब्दसँग बरबराउँथे। मन छुने शब्द टपक्क टिपेर डायरीमा लेख्थे। हुन त, आमाले रत्यौली गाउँदै नाचेको अझैँ सम्झना छ उनलाई। आमाको हात समाएर रत्यौलीमा जाँदा उनले पनि रत्यौली सुने। देखे। र, सबैले गाएको बेला ओठ चलाए।
‘आमाको अलिअलि गुण ममा सरेको छझैँ लाग्छ’, जीवनको असिऔँ वसन्त हिँडिरहेकी आमालाई सम्झिँदै भने उनले।
परिवारबाटै उनले गीत लेख्न प्रेरणा पाए। तर, परिवारमा भन्न डराउँथे। अलिकति लजालु स्वभावका प्रह्लाद अरूलाई गीत सुनाउन धक मान्थे। कुस्मा बागलुङमा हेरेका फिल्म, रेडियो र एफएममा सुनेका गीतले पनि उनलाई अझै लोभ्याउँथ्यो। आफ्नो गीत कहिले बज्ने होला भनी कल्पिन्थे।
‘हिँड हाम्रो घर, खुँदो खाउली चम्चाले
मुख पुछ्यौली गम्छाले।’
गण्डक क्षेत्रमा गाइने लोकभाका उनको तन्तुतन्तुमा बस्यो। तर, भनूँ कसलाई भन्ने छटपटीले उनी एक्लैएक्लै गुनगुनाइदिन्थे। रेडियो एफएमभित्र आफै पसेर आफ्ना गीत सुनाउन पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई।
‘रेडियोभित्र मान्छे बोल्छन् भन्ने जमाना थियो त्यो। अनि आफ्ना गीत पनि रेडियो भित्रको मान्छेले कहिले गाइदेलान् भन्ने लाग्थ्यो’, रेडियोमा गीत सुन्दाका दिन सम्झिए उनले।
काठमाडौंमा आएपछि गीतसंगीत खुबै सुन्थे। पढाइमा भन्दा पनि उनको ध्यान गीत लेख्ने, सुन्ने र गाउनेमा थियो। त्यसैले एकदिन जुर्यो गायक विष्णु खत्रीलाई भेट्ने अवसर। उनको गीत सुनेर हुर्किएका प्रह्लादलाई विष्णुको सफलता देखेर आफ्नो सफलता कल्पिन्थे। उनको जस्तो लोकप्रियता आफूले कहिले पाउँला भन्ने सोच्थे। तर, दाइको निगरानीमा बस्नुपर्दामा दकसले रोक्थ्यो।
प्रवीणता तहको दुई वर्ष बितेको पत्तै भएन। उनका दाजुले मास्टर सकेर बागलुङ पढाउन गए। सँगै प्रह्लादलाई पनि लिएर गए।
बागलुङमा पुगेर बोर्डिङ स्कुलमा पढाउँदै मेजर अंग्रेजीबाट स्नातक पनि पढ्न थाले प्रह्लाद। तर, जहाँ पुगे पनि मनमा बसेको गीत संगीतले छोडेन उनलाई। एकदिन संयोगले भेट भयो गायन क्षेत्रमा संघर्ष गरिहरेको यम क्षेत्री। दुवै पाङमै जन्मे हुर्किएका थिए। उनै यमसँग प्रह्लादले आफूले कोरेको गीत देखाउने र सुनाउने गर्न थाले। उनी गीतका शब्द मात्रै सुनाउँथेनन्, बरु गाएर सुनाउँथे। संगीतको औपचारिक शिक्षा नलिएका प्रह्लाद राम्रै भाका बनाउँथे। यो गीतको भाका बनाउनमा यमले पनि सहयोग गरे। यो गीतलाई रेकर्ड गर्छु भने यमले। यमले गीतको भाका र शब्द बोकेर काठमाडौं आए।
६१ सालतिरको कुरा हो। यमले रेकर्ड भएको गीतको डमी चक्कामा बोकेर बागलुङ पुगे। उनलाई गीत सुनाए। बिमाकुमारी दुरा र यम क्षेत्रीको स्वर थियो। गीत सुनेर एकछिन प्रह्लाद स्तब्ध भए। मनले रोजेको मार्ग खुल्दै गएझैँ लाग्यो उनी भन्छन्, ‘त्यो क्षण संसारकै खुसी मिलेको थियो।’
धौलागिरि क्यासेट सेन्टरले निकालेको थियो गीत। र, साठीको दशकमा साठी प्रतिशत लोकदोहोरी गीतका क्यासेट उत्पादन गर्ने गर्थ्यो धौलागिरि क्यासेट सेन्टरले नै। उनी भन्छन्, ‘प्रतिष्ठित संस्थाले क्यासेट निकालिदिएपछि गीतसंगीतमा लाग्ने बाटो अलिकति फराकिलो भएको महसुस गरेँ।’
यो गीत निकालेपछि यमले प्रह्लादलाई स्रष्टाका रूपमा राम्रै चिनजान गराइदिए। ‘आफ्ना शब्दहरू गीतसंगीत भएर आउँदा भावुक भएको थिएँ। त्यो खुसी दाजुलाई सुनाएँ’, ती दिन सम्झिए उनले।
सिरिसिरि हावा चल्यो... बोलको यो गीत चाहिँ उनलाई क्लिक गरायो। लोकदोहोरी क्षेत्रमा प्रह्लाद सुवेदी भन्ने मान्छे पनि गीत कोर्छ है भन्ने गरी चिनाएको दाबी गर्छन् उनी।
गीत संगीतमा बामे सर्न थालेका प्रह्लादलाई संगीतको गहिरो नसा नै लाग्यो। पढाई पनि राम्रै चलेको थियो। घरमा दाजुहरूले शिक्षण पेसालाई अझै फराकिलो बनाएर लैजान सुझाव दिइरहेका थिए। तर, प्रह्लादले गीतसंगीत क्षेत्रलाई फराकिलो बनाउन थाले।
‘यो गीतका लागि अग्रिम २२ हजार पारिश्रमिक नै दिएको थियो धौलागिरि क्यासेट सेन्टरले। ती दिनमा नयाँ स्रष्टाका लागि यति रकम धेरै थियो। गीत राम्रो भएरै त्यति रकम दिनुभएको थियो।’
देशभरि ६२/६३ को जनआन्दोलन चलेको थियो। राजतन्त्र अन्तका लागि जनताहरू सर्लक्कै सडकमा आएका थिए। प्रह्लाद पनि बागलुङबाट आन्दोलनमा होमिई गणतन्त्रको नारा लगाउँदै थिए। उता धौलागिरि क्यासेट सेन्टरले भने गाउँगाउँमा क्यासेट पुराइरहेको थियो। गीतसंगीत बज्न थालिसकेको थियो। यस्तैमा बागलुङमा उनले यो गीत सुने। यम क्षेत्री र विष्णु माझीको स्वरमा गीत सुनेर प्रह्लादले आन्दोलनमा लाग्न दोब्बर ऊर्जा पाएको सुनाउँछन्।
‘को हो यतिमिठो भाका र शब्द कोर्ने’, यसरी लोकगीत रुचाउनेले सोधखोज खोज्नेहरू पनि भेटिए।
‘मलाई पहिलोपटक रेडियोको ढोकासम्म पुर्याउन सकेको गीत हो यो’, उनले गीतको सफलताले दिएको खुसी सुनाए।
यही गीतको सफलताले उनलाई बागलुङबाट काठमाडौं फर्कायो। गीत हिट भएसँगै उनले पाएको २२ हजार पारिश्रमिकको सत्तरी प्रतिशत रकम जब दाइको हातमा राखिदिए दाइ पनि छक्क परेका थिए। गीतै कोरेर यत्तिका पैसा देला भन्ने कहिल्यै नसोचेका दाइको मन पनि जिते प्रह्लादले। उनी भन्छन्, ‘दाइको हातमा केही रकम राखिदिएपछि दाइसँग लाग्ने दकस पनि घटेको थियो। गीतमा पनि भविष्य छ दाइ, मुखले भन्न नसके पनि मैले दिएको पैसाले भन्दै थिएँ।’
बरबर आँसु झर्दा खेरीमा...
राजु परियार र बिमाकुमारी दुराले गाएको यो गीत बन्नुको किस्सा पनि सुनाउँछन् उनी।
र्तिपुर बस्थे गायक विष्णु खत्री। उनैसँग बस्थे प्रह्लाद पनि। बैठक कोठामा सुत्थे प्रह्लाद। त्यही सिरानी मुनी उनको डायरी थियो। राति अबेरसम्म उनी शब्दसँग खेल्दै केर्थे। यस्तैमा एकदिन खत्रीलाई भेट्न खत्री निवास पुगे संगीतकार वसन्त थापा।
‘म त्यो दिन अन्य कामले व्यस्त थिएँ। दाइ (विष्णु)लाई भेट्न वसन्त सर पुग्नु भएको रहेछ। त्यही बैठक कोठाको बेडमा बस्दा सिरानीमुनीको डायरी भेटेर वसन्त सरले हेर्नु भएछ। मपछि कोठामा पुग्दा वसन्त थापाले गीतका डायरी हेरिरहेको देखेँ। म पुग्ने बित्तिकै राम्रा गीत लेख्नुहुँदोरहेछ भन्नुभयो। र, ‘बरबर आँसु झर्दा खेरीमा..’ बोलको गीतमा काम गरिहालौं भन्नुभयो। मलाई त ढुंगा खोज्दा देउता भेटेजस्तै भयो’, संगीतकार वसन्त थापालाई भेट भएको पहिलो दिनको अनुभव सुनाए उनले।
थापासँगको पहिलो भेटमै काम जुर्यो। संगीत यात्रा अझै फराकिलो बन्ने लक्षण देखियो। यो गीतले उनलाई अर्को उचाइ दियो। फूल टाइमर गीतसंगीतमै लाग्न खोजे। हुन त यो सहरमा जति अवसर पाइन्छन् त्यति दुःख पनि छ। सजिलै ‘सर्भाइभ’ हुन गाह्रो छ। आर्थिक जोहो बिना सहरमा केही सोच्न सकिँदैन। उनले पनि आर्थिक हैसियत गाउँमै छोडेर गीतसंगीतमा निरन्तरता दिन सहर झरेका थिए।
प्रह्लादले जीवनमा अर्को काम रोजेनन्। गीतसंगीतमै एकाग्र भए। अर्को काम गर्नपर्छ भनेर दबाब दिन पनि छोडे घरबाट। अलिअलि खर्च पनि गीत लेखेरै पाउन थालेपछि उनी खुसी भए।
गीतको पारिश्रमिक बापत उनले रोयल्टी पनि पाए। रोयल्टीको रकमले अतिआवश्यक सरसामान जुट्न थालेपछि उनले आफ्नो भविष्य देख्न थाले। मेजर अंग्रेजीबाट स्नातक सकेपछि प्रह्लादले नपढेको र नसिकेको क्षेत्रलाई आफ्नो कर्म बनाउन थाले। कलाकर्मको सघननाता आफूलाई जोड्दै गए।
जोगीको भेषैमा....
यो गीत पनि वसन्त थापाले नै कम्पोज गरे। यसलाई गाइदिए चर्चित गायक कुलेन्द्र विश्वकर्माले। यसपछि उनले मुखले मागेको खर्च पाउन थाले। ‘एउटा क्यासेट विक्री हुँदा दश रुपैयाँ पाउँथे। पैसा चाहिएको बेला मागिन्थ्यो। काम चलाइदिए पछि यसैमा खुसी हुन थालियो,’ गीतै लेखेरै बाँच्नु पर्ला भन्ने सोच आउँदाका दिनको कथा सुनाए उनले।
प्रह्लादले जीवनमा अर्को काम रोजेनन्। गीतसंगीतमै एकाग्र भए। अर्को काम गर्नपर्छ भनेर दबाब दिन पनि छोडे घरबाट। अलिअलि खर्च पनि गीत लेखेरै पाउन थालेपछि उनी खुसी भए। ‘गीतसंगीतमा लागेर जेब खर्च चल्न थालेपछि त्यसैमा रमाउन थालेँ। खर्च पनि चले पुग्छ भन्ने लाग्यो,’ उनले भने।
आफूलाई स्वच्छन्द स्वभावका मान्छन् प्रह्लाद। बाँधेर राख्न चाहँदैनन्, बरु हिँडिदिए मनमर्जी। गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार वसन्त थापासँग संगत परेपछि गीत मात्रै सोच्न थाले। स्नातक सकेसँगै उनले स्नातकोत्तर गर्नतिर लागेनन् बरु नयाँ नयाँ गीत सृजना गर्न थाले। भन्छन्, ‘रूटिङमा मैले जिन्दगी बाँचिन्। काव्यिक बनाउन तिरै कोसिस गरेँ। रमाइरहेँ।’
जीवन आफैमा लक्ष्य हो भन्ने प्रह्लादले आफूलाई गीतसंगीतमै पोख्दै लगे। तब त रातको तेस्रो प्रहर जन्मियो – नजाऊ है सानु पँधेरीमा।
हिँडे सानु ख्याल गरीगरी
काँडा बिझ्लान् ती कोमल पाउ भरी।
नजाऊ है सानु पँधेरीमा
आफ्नै छायाले पनि साथ दिन्न भन्छन् अँधेरीमा
यस गीतका रचना गर्भ सुनाउँछन् उनी।
त्यो रात तीन बजेतिर उठे उनी। कीर्तिपुरको टाढाबाट परपर हेरे। र हेरे आफैसँग उभिएको छाया। छाया देखेर उनी आफै तर्सिए, ‘आफ्नै छाया देखेर डराएँ।’
मनमा चस्स पर्यो यो लाइन उनलाई। छाया हेर्दै उनले सुन्दर युवती सम्झिए, जसलाई उनले कहिल्यै देखेनन्। अनि मनमनै खेलाए नजाऊँ है सानु पँधेरीमा।
प्रायः महिलाहरू झिसमिसेमै पँधेरी जान्छन्। उनीहरू कुनै न कुनै क्षण पक्कै तर्सिए होलान्। आफ्ना कुरा भने पनि होलान्। यस्तै यस्तै सोचे उनले। गीतका हरफ लेखेर उनले टेक्स गरिदिए संगीतकार वसन्त थापालाई। भोलिपल्ट आफन्त बिरामी भएर प्रह्लाद अस्पताल थिए। बिरामीको कुरुवा भएर बसेको प्रह्लादलाई फोन गरेर राति १२ बजे ट्युनिङ सुनाए वसन्तले। ट्युनिङ सुन्ने बित्तिकै प्रह्लादको थकान सबै हरायो।
‘यो गीतले मलाई एउटा उचाइ दियो। लोकगीत क्षेत्रमा आफ्नो नामलाई स्थापित गर्नसकें’, उनले भने।
सिर्जना कहाँ कतिखेर जन्मिन्छ उनी भेउ पाउँदैनन्। कुनै थिममा काम गर्न खोज्दा समय लाग्ने र कहिलेकाहीँ धाराप्रवाह गीत फुरिदिन्छ। प्रह्लाद आफ्नो गीत दुई माध्यमबाट फुर्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘कतिपय गीत दिमागले लेखिएका हुन्छन्। यो समाजमा भइरहेका कुरालाई नै जोडजाड गरेर बनाइरहेको हुन्छु, जसलाई म रि–थिङ्किङ भन्छु। कहिले काहीँ भने बिचार पनि विलीन अवस्थामा अथवा थर्डलेस अवस्थामा प्रवाहका रूपमा गीत आउँछ, जसलाई मेरो प्लेवरमा अभिव्यक्ति गर्दछु।’
उनका लागि गीत झिल्को भएर आउने गर्छ। राति सुनसानमा आफ्ना गीतका शब्दसँग घोरिन रुचाउँछन्। जबजब रात पर्दै जान्छ उनी काव्यिक हुँदैजाने गरेको बताउँछन्। गीत लेखनमा उनलाई परिवारको सहयोग सधैँ रह्यो। उनी भन्छन्, ‘म घरमा बसेको जस्तो लाग्दैन। होस्टेलमा बसेको जस्तो लाग्छ।’
पारिवारिक काम सबै उनको श्रीमतीले मिलाउने गर्छिन्। घर फर्किने निश्चित समय छैन। कहिलेकाहीँ गीतको मुडमा हुँदा कोही बोलिदिए पनि उनी बोल्दैनन्। परिवारलाई थाहा हुन्छ प्रह्लाद गीत सोचिरहेका छन्। अहिले पनि र्कीतिपुरमा एउटा फल्याट भाडामा लिएका छन् र गीतसंगीतका लागि भनेर छुट्टै कोठा ओगटेका छन्।
सांगीतिक क्षेत्रमा लागेर आर्थिक कमाउन नसके पनि खुसी छन् उनी। अनेक अनुभूति र किस्साहरू बटुलेको बताउँछन्। यो सानो सहरमा एकाध चोटि काम गरेपछि व्यावसायिक मित्रहरू घनिष्ठ मित्र हुन पुग्ने गरेको उनको अनुभव छ। त्यसैले आफूले पाउने पारिश्रमिक पनि सापेक्षिक लाग्छ उनलाई।
गीत लेखनको पारिश्रमिक तिर्न कन्जुसाई गर्ने एउटा जमात नभएको होइन यहाँ। साह्रै महत्त्वपूर्ण विधालाई हलुका लिई दिनाले नै गीत र गीतकारको ‘चार्मिङ’ नभएको भन्ने लाग्छ। गीत लेखन सर्जकले जिरोबाट सुरु गर्नुपर्छ तर पनि सर्जक नै छायामा पर्छ। उनी भन्छन्, ‘गीत लेखन शून्यताबाट सुरु हुन्छ। गायक संगीतकारले त्यसपछि आफ्नो काम सुरु गर्छन्।’
आजभोलि लोकगीतको बजार फष्ट्याएको देख्छन् प्रह्लाद। स्रष्टालाई बजारले पारिश्रमिक दिन्छ। राम्रो रिडिङ रहेको बुझाई छ उनको। हिजोको दिनमा लोकगीत भनेको दुरदराजका मानिसले दुःख पर्दा मात्रै गाउने हो भनिन्थ्यो। अथवा वनपाखा र गाउँघरमा हुने मेला महोत्सवमा मात्रै गाइने भनिन्थ्यो। अहिले त्यसकिसिमको मौलिकताको पर्खालहरू भत्किँदै गयो। लोकगीत र अन्य गीत छुट्याउनै गाह्रो हुँदै आयो।
‘असनमा अंग्रेजी पप गीत सुनेर हुर्किएको युवा जब अस्ट्रेलिया पुगेर लोकगीत सुन्छ नि त्यतिखेर नेपाली हुनेको गर्व अनुभूति गर्छन्’, उनी भन्छन्, ‘हिजो गण्डक क्षेत्रमा सुनिने भाकाहरू नेपालभरि सुनिन्छन्। भूगोलको पर्खाल नाघ्दै आयो गण्डक क्षेत्रको गीतले। लोकसंगीत पनि व्यावसायिक हुँदै आयो।’
यस्तै एउटा गीत बोकेझार हो, जसले व्यावसायिक सफलता पाएको बताउँछन् उनी।
भेटे माया मोहनी मन्तर
छुटे माया कुना र कन्तरा
खेतमा बोके झार...
दुई वर्ष अगाडि किर्तिपुरमै लेखेका थिए, यो गीत। यो गीत लेख्दा उनले आफ्नै गाउँघरको झार सम्झिए। स्वर तथा संगीत वसन्त थापाकै छ।
‘गीतमा मौलिक शब्द नखोजी धरै पाउँदिन’, प्रह्लाद आफ्नो गीतको विशेषता जोड्छन्। संगीत क्षेत्रमा जेजे सिके त्यो गल्तीहरूको सँगालो मान्छन् प्रह्लाद। गीत लेखेर, डायरी बोकेर, गीत सुन्देउ न भन्ने दिन थिए। आफैले चिया पिलाएर आफ्नो गीत सुनाउने दिन हराउँदै जानुको कारण गीतकारहरू पनि व्यावसायिक हुँदै गए भन्ने लाग्छ उनलाई।
प्रह्लाद फूलटाइमर गीतकार हुन्। गीत लेखेरै जीवन चलाएका छन्।
‘जब जीविकोपार्जन नै गीत बन्दै जान थाल्यो अनि अर्कैले भनेर मात्रै गीत लेख्न थालियो। अथवा अरूले भने मात्रै गीत सोच्न थालियो’, आफू गीत लेखनमा व्यावसायिक हुन् थालेको अनुभूति सुनाए।
हुन त, नेपाली सांगीतिक क्षेत्रमा गीतकार किनाराका पात्रजस्तो हुन्, जसको नाम समेत मुस्किलले राखिन्छ। अहिले पनि गीति भिडियोको पोस्टरमा गीतकारको फोटो पासपोर्ट साइजमा सानो हुन्छ। सानो कहिलेसम्म ? गीतकार टिठलाग्दो देखिने कहिलेसम्म ? उनी भन्छन्, ‘सर्जकहरू अब दीन हुने होइन। धनी हुनुपर्छ भन्ने हो।’
प्रह्लादका कयौं गीत करोड क्लबमा छन्। जस्तै जलजला, तिम्रो आँखैमा, तिम्रो बन्नलाई, माया हाँसेको, जस्ता गीत त उनकै युट्युब च्यालनमा पाइन्छ।
गीतकारले पनि गायक संगीतकार तथा कलाकारले जस्तै फड्को मार्नुपर्छ भन्ने गतिमा छन् उनी।
हिजोको दिनमा यो क्षेत्रमा लागेर भोकभोकै भइन्छ कि भन्ने डर थियो। तर, आफ्नो क्षेत्रमा लागेर भोकै बस्न परेन उनले। गीतकै कर्ममा लागेर उनले विवाह गरे। बालबच्चा छन्। धेरै पैसाको खाँचो परेको बेला गीतकार किन भइयो, किन गीतसंगीतमा लागे हुँला जस्तो लागे पनि हरेस खाएनन्। निराश भइहालेनन्। जसोतसो टर्दै गयो। त्यसैले गीतसंगीतका लागि काठमाडौ आएर रुनु परेको लाग्दैन बरु काठमाडौंले गुन लगाएको मान्छन्, उनी भन्छन्, ‘क्याटलिष्ट नै हो मेरा लागि काठमडौं।’
०००
आफ्ना गीतमा गण्डक क्षेत्रको मौलिक शब्द नै बिम्बका रूपमा ल्याउँछन् उनी। मायाप्रेमका भावमा मौलिक शब्द जोडिदा गीतमा रस अझै हुने बुझाइ छ उनको। आफ्ना गीतमा बिम्बको रूपमा फूल, हाँसो, ओठ जस्ता शब्द छुटाउँदैनन्। फूल हाँसो र ओठ त धेरै गीतमा दोहोरियो भनेर कमेन्ट गर्नेहरू पनि छन् उनलाई। अर्को रहर पाङलाई पनि विम्बको रूपमा गीतमा ल्याउनु छ उनलाई।
हुन त, गण्डक क्षेत्रले बागलुङ, स्याङजा, जलजला, बेनी, पर्वत बुटवल, कालीगण्डकीलाई बिम्बको रूपमा गीतमा प्रयोग गर्दै आएका छन्। धौलागिरि हिमालैको अत्यधिक गीतसंगीतको खानी हो पनि। हरेक परिवेशमा गण्डक क्षेत्रको मौलिकता विम्ब भएर आएको छ। कसैको न कसैको गीतमा आएको छ। उनी भन्छन्, ‘गण्डक क्षेत्रको बिम्ब टिप्ने प्रचलन त रित नै बन्यो। यसो हुनु सभ्यताको पहिचान र मौलिकताको बलियो पकड पनि हो।’
लाहुरेले त कसला कटाउँछ।
आउँछु भन्छ मसला पठाउँछ।
दैनिक प्रयोगमा हुने वस्तु र अपेक्षालाई लोकदोहोरी गीतमा भर्न माहिर छन् गण्डक स्रष्टा। प्रह्लादले पनि बोकेझार बोलका गीत ल्याए। यौन मनोविज्ञान र मौलिकताको सम्मिश्रण छ गीतमा। झारै नभएको भए बोकेझार गीत नै जन्मिन्थेन। अझ बोकेझार विशेष बिम्ब नै बनाए उनले गीतमा।
डेढ दशक भयो गीत संगीतमा लागेको उनी। गीतसंगीत उनका लागि संगत हो। यसैलाई उनले ‘प्यासन’ बनाए। गीतसंगीतको कर्मलाई उनी जन्मजात पाएको बताउँछन्, त्यसैले जिन्दगी कलरफूल लाग्छ उनलाई।
सुन्दर गीत लेख्न खोज्दा–खोज्दा कठिन गीत बनेका अनुभव पनि छ प्रह्लादसँग।। आफैले लेखेर आफैले नबुझ्ने गीत पनि लेखे उनले। ‘सरल लेख्न कठिन छ, कठिन लेख्न सरल छ’, उनले भने आफ्ना गीतका अनुभव सुनाए।
हरेक मान्छेसँग गीत छन् तर सबैलाई भन्न आउँदैन। अरूको भावना व्यक्त गर्ने कोसिस गरेको भन्छन् उनी। शैली मात्रै आफ्नो भएको स्विकार्छन्। भन्छन्, ‘बिजुली त यही थियो तर वैज्ञानिकले पो देखे। हामीले देखेनौ भनेजस्तै हो।’
जसको शब्दले गायक संगीतकार अगाडि हुन्छन् तिनै स्रष्टा सधैँ ओझेलमा पर्छन्। गीतकार पछाडि पर्नुमा समाजको चेतना स्तरका कारण हो भन्ने लाग्छ उनलाई।
मन भुलाउन बैशले पेलेको
हेर्न जान्छु रत्यौली खेलेको।
सधैँ परम्परा मानियो गीतलाई। दुःख बिर्सन, खुसी हुन मात्रै गीत गाइन्छ भनियो। तर हाम्रो मौलिक गीत व्यावसायिक हुनुपर्छ भन्ने जोडमा छन् उनी। तर पछिल्लो समय फष्ट्याएको भिडियो कथाले राम्रा गीत ओझेलमा पर्ने त होइनन्। किन कि बजारले गीत भन्दा नि राम्रो भिडियो कथा खोज्न थाल्यो। भिडियो हेर्ने चलन आयो। उनी भन्छन्, ‘राम्रो गीत जस्तै राम्रो भिडियो आए पनि हराउँदैन। बरु भिडियो बिर्सिएर जान्छ।’
पहिलो पहिला कानको माध्यमबाट हाम्रो मनलाई छुन्थ्यो गीतले। आजभोलि आँखा रमाए मात्र हृदयलाई छुने भएको छ। जीवन पहिलोभन्दा कलरफूल बन्दै गएको छ। त्यसो भएर आँखाको भूमिका धेरै भयो। उनी भन्छन्, ‘गीतसंगीत हेर्ने भए पनि हेरिरहन सकिँदैन। बरु सुनिरहन सकिन्छ। त्यसैले राम्रो अडियो नै पहिलो हो भन्ने लाग्छ।’
प्रह्लाद फूलटाइमर गीतकार हुन्। गीत लेखेरै जीवन चलाएका छन् र पनि गीतको पारिश्रमिक भन्न चाहेनन् उनले। कम्तीमा सहरमा टिकेकोमा खुसी छन्। लेख्न त उनले केही फिल्मका स्क्रिप्ट, सर्ट मूभि र सिरिजका ड्राफ्टमा पनि काम गरेका छन्। तर, पहिलो प्राथमिकता उनको गीत लेखन नै हो। उनी भन्छन्, ‘सुरुमा रहरले लेखियो। अहिले यसैलाई व्यावसायिक बनाउने जोडमा छु। किन कि कसैले जबरजस्ती गीत लेख्न लगाएको होइन। यो दुःख मैले आफैले रोजेको दुःख हो।’