बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • देशमा 'ऊर्जा संकट', भारतसँग ३८ रुपैयाँमा किनेर ९ रुपैयाँमा बिक्री गर्दै प्राधिकरण

देशमा 'ऊर्जा संकट', भारतसँग ३८ रुपैयाँमा किनेर ९ रुपैयाँमा बिक्री गर्दै प्राधिकरण

भारतबाट बिजुली आयात नभएपछि देश ऊर्जा संकटमा फसेको छ। नेपाल विद्युत प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै देशले ऊर्जा संकट झेलिरहेको जनाएको हो।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- भारतबाट बिजुली आयात नभएपछि देश ऊर्जा संकटमा फसेको छ। नेपाल विद्युत प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै देशले ऊर्जा संकट झेलिरहेको जनाएको हो। 

मंगलबारदेखि नेपालले ऊर्जा संकटको सामना गरिरहेको छ। बुधबार देशका विभिन्न स्थानका उद्योगमा विद्युत आपूर्ति कम गरेको थियो। बिहीबार राजधानीका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भइरहेका बेला नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने कार्यालयमा ऊर्जा संकटबारे पत्रकार सम्मेलन गरेर ब्रिफिङ गरिरहेका थिए। 

भारतबाट आयात हुने बिजुली महँगो हुँदा नेपालमा ऊर्जा संकट भएको उनको भनाइ छ। भारतबाट ३८ रुपैयाँ प्रतियुनिटमा बिजुली किनेर आफूहरूले १२ रुपैयाँमा बिक्री गर्न खोज्दा पनि 'बिड' नपरेको उनले बताए। पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक घिसिङले 'ऊर्जा संकट' शब्दको बारम्बार उच्चारण गरेका थिए। 

'गत मंगलबारदेखि हामीले ऊर्जा संकट भोगिरहेका छौं। बिहीबार (आज)मात्रै उद्योगी र अर्थ मन्त्रालयसँग संकट समाधानको लागि छलफल गरेका छौँ। उहाँहरुले पनि आफूले सक्ने सहयोग गर्ने वचन दिनु भएको छ,' उनले भने। 

रुस-युक्रेन युद्धका कारण विश्व बजारमा कोइलाको मूल्य २०० प्रतिशतले बढेको छ। भारतमा २० दिनलाई पुग्ने कोइलाको 'रिजर्भ' हुने गरेको भएपनि अहिले बढीमा दुई दिनलाई मात्र पुग्ने कोइला रिजर्भमा रहेकोले भारतको नयाँदिल्लीलगायतका ठाउँमा लोडसेडिङ हुन सक्ने भारतीय सरकारले बताइसकेको छ। 

आयात गरिएको कोइलाबाट उत्पादन हुने विद्युत मात्र बिक्री गर्न पाइने भारत सरकारको नियम छ। ‘कोइलाको मूल्यमा भएको वृद्धिका कारण भारतले एक महिना अघि नै नेपाल र भारतका पावर ट्रेडिङ कम्पनीहरुबीच ४.१६ भारुमा बिक्री गर्न नसकिने भन्दै हात उठाएको थियो,’ निर्देशक घिसिङले भने। 

भारतले बरु आफूहरु एक रुपैयाँ भारु 'पेनाल्टी' तिर्न तयार भएको तर लागत महँगो भएकोले उक्त रकममा ऊर्जा बिक्री गर्न नसक्ने जानकारी प्राधिकरणलाई दिइसकेको थियो। त्यसपछि नेपालले बढीमा ९ रुपैयाँ र औसत ७ रुपैयाँ भारुका दरले खुल्ला बिडमार्फत् विद्युत आयात गरिरहेको थियो। 

तर एक्कासी गत मंगलबार ९ रुपैयाँमा किन्ने प्रस्ताव गर्दा पनि नेपाललाई बिजुली दिन भारत तयार भएन। सो समयमा भारतको बिजुलीको दर रु ११.२३ पुगिसकेको थियो। बुधबार पनि प्राधिकरणले भारु १२ रुपैयाँमा किन्नका लागि प्रस्ताव हालेको थियो। भारतमा प्रतियुनिट १५ भारु पुगेपछि जम्मा १० वटा ब्लकबाट मात्र नेपालले विद्युत पाएको थियो। यसकारण नेपालको केही उद्योगहरुले निरन्तर बिजुली पाएनन्। 

प्रकाशित: Mar 24, 2022| 16:41 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्