काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले लोडसेडिङ नहुने र हुन पनि नदिने बताएका हुन्।
कार्यकारी निर्देशक घिसिङले अहिले लोडसेडिङ नभई केही दिनको समस्या भएको र त्यसको समाधान अहिलेलाई भएको बताएका छन्। बिहीबार राति १२ बजेबाट २० भारू अर्थात् ३२ रुपैयाँमा बिजुली किन्न लागिएको उनले बताए। यो बिजुलीको मूल्य करसहित प्रतियुनिट नेपाली ३८ रुपैयाँसम्म पर्ने देखिएको छ।
पहिले केही समय निकै सस्तोमा पनि बिजुली किनेको उल्लेख गर्दै घिसिङले अहिले महँगो भए पनि माग पूरा गर्न घाटा खाएर किन्न लागिएको बताए। भारतको खुला बजारबाट नेपालले यसअघि औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो।
प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ।