काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन्।
पटक–पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटमको बेवास्ता गरेपछि मन्त्री आलेको उक्त निर्देशन आएको हो। ती क्यासिनो सञ्चालकले पाँच दिनभित्र रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरे कारबाही गरिने चेतावनी आलेले मन्त्रीस्तरीय निर्णयबाट दिएका हुन्।
ती क्यासीनोबाट आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ।
विभागले सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ।