बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषिका नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने

कृषिका नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने

नेपाल कृषि मेशिनरी व्यवसायी संघले बुधबारदेखि यहाँ सुरु गरेको पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी, २०७८ अन्तर्गतको कृषि कर्जा मेलाको उद्घाटन गर्दै उहाँले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र बैंकले काम गर्ने बताएका हुन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन्। नेपाल कृषि मेशिनरी व्यवसायी संघले बुधबारदेखि यहाँ सुरु गरेको पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी, २०७८ अन्तर्गतको कृषि कर्जा मेलाको उद्घाटन गर्दै उहाँले राज्यले कृषकलाई दिएको सुविधाको दुरुपयोग रोक्न राष्ट्र बैंकले काम गर्ने बताएका हुन्। 

उनले भने, 'कृषिका नाममा कर्जा लिएर दुरुपयोग गर्नेलाई सच्याउने छाँै र कारवाहीको दायरामा ल्याउने छौँ।' राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ थियो। विसं २०८० सम्म हरेक बैंकले आफ्नो लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति बनाएको भन्दै उहाँले सरकार र बैंकिङ क्षेत्रले गरेको लगानीबाट सोचे जस्तो सन्तुष्टि पाउन नसकेको बताए। 

अहिले पनि नेपालमा कृषिजन्य वस्तु आयात उच्च रहेको भन्दै उनले भने, 'अब हामी कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुपर्छ।' आयात घटाउनतर्फ सबै कृषक लाग्नुपर्ने उनको भनाइ थियो। कृषि क्षेत्रको लगानीमा कैयौँ ठाउमा चेन ब्रेक भएको र यसले गर्दा सही ढङ्गले कृषि क्षेत्र अघि बढ्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे।  

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले मेलामा हुने गोष्ठीका क्रममा आएका निचोडका आधारमा राज्यले नीति निर्माण गर्दा मार्गदर्शन बन्ने बताए। सरकारले अहिले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले यस क्षेत्रको विकासका लागि राज्य र कृषक दुवै मिलेर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी निर्देशक अनिलकुमार उपाध्यय र नबील बैंकका अध्यक्ष उपेन्द्र पौडेललगायतले बोलेका थिए। प्रदर्शनी चैत १२ गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा कृषि यन्त्र, औजार उपकरण तथा प्रविधिका २० भन्दाबढी मुलुकमा उत्पादन भएका सामग्री राखिएको छ। एक सय ५० कक्ष रहेको प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु २० करोडभन्दा माथिको कारोबार हुने अपेक्षा लिइएको छ। कार्यक्रम कृषि कर्जा मेला संयोजक सुनिता नेवाफुकीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: Mar 23, 2022| 23:30 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्