काठमाडौं– नेपालले भारतबाट बुधबार बिजुली आयात गर्न सकेन। मंगलबार राति १२ बजेदेखि बुधबार राति १२ बजेसम्म भारतमा बिजुली खरिदका लागि भएको बिडमा नेपालले गरेको मूल्यमा बिड नपरेपछि नेपालले बुधबार बिजुली किन्न नसकेको हो।
सप्लाइमा भएको कमी तथा भारतमा बिजुली उत्पादनका लागि चाहिने कोल महँगो हुँदा त्यहाँको बिजुली महँगो भएको छ। ‘बुधबार रातिसम्मको लागि खोलिएको बिडमा नेपालले ९ रुपैयाँ प्रतियुनिटमा बिड गरेको थियो तर बिजुलीको मूल्य ११ रुपैयाँ २३ पैसासम्म प्रतियुनिट पुगेपछि नेपालले बुधबारको लागि बिजुली आयात गर्न नपाएको हो,’ नेपाल विद्युत प्राधिकारणका प्रवक्ता सुरेजबहादुर भट्टराईले भने।
उनका अनुसार नेपालले आज १२ रुपैयाँ ५३ पैसामा फेरि बिड गरेको छ तर त्यो रकममा बिजुली पाउने हो कि हैन ठेगान छैन। उनले भने, ‘अब नेपालले प्रतियुनिट १२ रुपैयाँ ६० पैसासम्म तिर्न पर्ने भयोे, यसअघि नेपालले साढे ४ रुपैयाँदेखि बढीमा ९ रुपैयाँ प्रति युनिटसम्म बिजुली आयात गर्ने गरेको थियो।’ भारतबाट भोलिपल्ट बिजुली आयातको लागि अघिल्लो दिनमा नै बिड गर्नुपर्ने हुन्छ। यदि बिड परेन भने बिजुली आयात रोकिन्छ। ‘अब हामीले पहिले जस्तो सस्तोमा बिजुली आयात गर्न सक्दैनौं। तर आयात नै रोकिएको भने हैन,’ प्रवक्ता भट्टराईले भने
प्राधिकरणका अनुसार नेपालमा दैनिक साढे ४ सय मेगावाट बिजुली आयात हुने गरेको छ। दैैनिक ४ लाख ५० हजार युनिट बराबरको बिजुली नेपालले आयात गरिरहेको छ। यसअघि ९ रुपैयाँ प्रति युनिट तिरेपनि जम्मा ४० लाख ५० हजार रुपैयाँ प्रति दिन भारत जाने गरेको थियो। अब सो रकम बढेर १२ रुपैयाँ ६० पैसा प्रतियुनिट भएमा ५६ लाख ७०० रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ। जसका कारण डरलाग्दो रुपमा बढिरहेको व्यापारघाटा थप बढ्न मद्दत पुग्ने देखिन्छ।