बुधबार, असोज १४, २०८३

८ महिनामै १३ खर्बभन्दा बढीको आयात

सरकारले लिएको आयात निरुत्साहनको नीतिविपरीत फागुनमा पनि आयात बढेको छ ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- सरकारले लिएको आयात निरुत्साहनको नीतिविपरीत फागुनमा पनि आयात बढेको छ । उच्च आयातका कारण मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक बन्दै गएपछि सरकारले आयात निरुत्साहनको नीति लिएको थियो।

तर, त्यसको प्रभाव आयातमा परेको देखिएन। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा कुल १३ खर्ब आठ अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। यो आकडा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६४ प्रतिशत बढी हो। गत वर्षको आठ महिनामा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सबैजसो कच्चा पदार्थ तथा तयारी वस्तुको मूल्य उच्च दरमा बढेको र त्यसको प्रभाव आयात मूल्यमा देखिएको हो। नेपालमै पनि आर्थिक गतिविधि र उपभोग तथा खपत बढेका कारण पनि आयात उच्च भएको हो।

सरकारले आयातको उच्च वृद्धिलाई निरुत्साहित गर्न सुन आयातको कोटा घटाउने, कतिपय वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउने, एलसी खोलेर मात्रै आयात गर्नुपर्ने, आयातमा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्नेलगायत व्यवस्था गर्दै आएको छ। नेपमल राष्ट्र बैंकले पहिलोपटक ५ पुसमा सूचना निकालेर मार्जिन राख्नुपर्ने वस्तुको सूची सार्वजनिक गरेको थियो। त्यसपछि पुनः सूचीमा थप वस्तु थप्दै २६ माघमा सूचना जारी गरेको थियो।

केन्द्रीय बैंकले ४७ वटा वस्तुको आयातमा मार्जिन राख्नुपर्ने, यस्ता वस्तुहरूको आयात गर्दा अग्रिम भुक्तानी गर्न नपाइने र प्रतीतपत्र खोल्दा नै मार्जिन रकम जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो। यसबाट आयात घट्ने अनुमान गरिएको थियो। तर, फागुन महिनामा माघको तुलनामा १३ अर्ब १२ करोड रुपैयाँले आयात बढेको छ।

प्रकाशित: Mar 22, 2022| 08:09 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्