बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वित्तीय संस्थामा तरलता संकट, घरजग्गा कारोबारमा भने बहार

वित्तीय संस्थामा तरलता संकट, घरजग्गा कारोबारमा भने बहार

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ। यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन्।
 |  आइतबार, चैत ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत ६, २०७८

काठमाडौ‌– बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घरजग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ। 

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ। यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन्। संशोधनतर्फ कुल चार हजार ५३९, हाल साविकतर्फ दुई हजार ६९३, घरजग्गा रोक्कातर्फ ३६ हजार ५७२  र फुकुवातर्फ कुल २४ हजार ७४९ रहेको विभागको विवरण छ। 

घरजग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएको देखिन्छ। गत माघमा कुल एक लाख ३२ हजार ५३ वटा घरजग्गाको काम भएको देखिन्छ। यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ। गत माघमा कुल ५९ हजार ५१६ वटा लिखत पारित भएका थिए। यस्तै घरजग्गाको नामसारीतर्फ चार हजार २७७ वटा थिए। संशोधनतर्फ तीन हजार ६२२, हाल साविक दुई हजार १४९, रोक्का ३० हजार ९८७ र फुकुवातर्फ १८ हजार ६७६ वटा भएका थिए। 

बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्यांकले अस्वीकार गरेको देखिएको छ। विभागको विवरणअनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै ६ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबरको राजस्व संकलन भएको छ। रजिष्टे«शन दस्तुरबाट तीन अर्ब ७८ करोड ११ लाख ८६ हजार ७९९,अतिरिक्त शुल्कबाट चार लाख दुई हजार ५४५ र पुँजीगत लाभकरबाट एक अर्ब ४४ करोड ४६ लाख तीन हजार तीन बराबरको राजश्व उठाइएको छ। 

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ। यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन्।

फागुनमा बागमती प्रदेशको मालपोत कार्यालय चावहिलले ३८ करोड ३५ लाख ९८ हजार, मालपोत कार्यालय डिल्लीबजारले ४५ करोड ३२ लाख छ हजार ३५३ बराबरको राजस्व संकलन गरेको छ। मालपोत कार्यालय कलंकीले ३९ करोड १६ लाख ८५ हजार ५०२, मालपोत कार्यालय साँखुले १५ करोड ७४ लाख ८० हजार ५१२, मालपोत कार्यालय मनमैजुले १३ करोड २९ लाख ३२ लाख ७५६, मालपोत कार्यालय टोखाले ११ करोड २९ लाख २४ हजार ४१९ बराबरको राजस्व संकलन गरेका छन्।

यस्तै, काठमाडौँ उपत्यकामा सबैभन्दा बढी लखनखेल मालपोत कार्यालयले बढी राजस्व संकलन गरेको छ। विभागको विवरण अनुसार लगनखेल मालपोतले ५४ करोड २२ लाख ११ हजार १३९ बराबरको राजस्व संकलन गरेका छन्। यस्तै, मालपोत कार्यालय बाँकेले ११ करोड २३ हजार ४०९, मालपोत कार्यालय कास्कीले १२ करोड ४५ लाख ३० हजार ९९२, मालपोत कार्यालय चितवनले १६ करोड २८ लाख ३४ हजार ८७७ बराबरको राजस्व संकलन गरेका छन्। विभागका अनुसार मालपोत कार्यालय रुपन्देहीले नौ करोड १९ लाख २६ हजार ३२४, मापलपोत कार्यालय चन्द्रौटाले तीन करोड ३५ लाख ८४ हजार ३३८ बराबरको राजस्व संकलन गरेका छन्। 

प्रकाशित: Mar 20, 2022| 15:15 आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्