काठमाडौं- एसियाली विकास बैंकले वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)सँग मिलेर काम गर्ने इच्छा प्रकट गरेको छ। आत्मनिर्भर अर्थतन्त्रका लागि वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र पूर्वाधार विकासका मिलेर काम गर्न एडीबी प्रतिनिधिमण्डलले इच्छा व्यक्त गरेको सीबीफीनले जानकारी दिएको हो।
प्रतिनिधिमण्डलसँग सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेर्ने एडीबीका उपमहानिर्देशक मनमोहन परकाशले नवीन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित कर्जा, विश्वव्यापी बजार र अवसर, अन्वेषण तथा नवीनतम प्रविधि उपलब्ध गराई स्वदेशी स्रोतसाधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्ने बताउँदै सहकार्यको प्रस्ताव गरेको बताइएको छ।
'अबका दिनमा नेपाललाई पूर्वाधार लगानी व्यवस्थापन संयन्त्र, साना उद्योग विकास आयोजना र साना तथा घरेलु उद्योगका लागि वित्तीय व्यवस्थापन आवश्यक छ,' बैठकमा एडीबी उपमहानिर्देशक परकाशले भने, 'साना तथा मझौला व्यवसायीहरुलाई विनाधितो कर्जा उपलब्ध गराउनुपर्छ। साना तथा घरेलु उद्योगबाट ठूलो रोजगारी सृजना हुने हुनाले यी उद्योगहरूलाई वित्तीय पहुँच, बजार र पूर्वाधारसँगै सीपको सहित सहयोग गरिनुपर्छ।’ महिला नै समाज परिवर्तनका संवाहक भएको बताउँदै महिलालाई सीप र सहज वित्तीय पहुँचका माध्यमबाट व्यवसाय प्रवर्द्धन गरी दिगो बनाउन सके अर्थतन्त्रमा टेवा पुग्ने उनको भनाइ छ।
सीबीफीन अध्यक्ष पवन कुमार गोल्यानले देशमा आर्थिक संकट परेको भन्दै नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन एडीबीसँग अनुरोध गरे। उद्यमीहरू कोभिडले थला परेकले उद्योग पूर्ण क्षमतामा संचालन भए आर्थिक क्रियाकलाप चलायमान हुने उनको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिए। कुमारी बैंक लिमिटेडका अध्यक्ष अमीर राणाले स्वदेशी उत्पादन प्रवर्द्धन गर्न सके रोजगारी वृद्धि हुने, आयातमा कटौती भई सरकारलाई ठूलो राजश्व पनि उठाउन सकिने बताए। नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले नेपाली महिलाले गुणस्तरीय वस्तु उत्पादन गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा उत्पादन विस्तार गर्न बैंक तथा वित्तीय संस्थासँग आर्थिक सहयोगको अपिल गरिन्। एडीबी मनिलाका निर्देशक थियाम हि इंगले स्वदेशी उद्योगको सम्भावना र आत्मनिर्भर अर्थतन्त्रका लागि यस क्षेत्रको दिगो रणनीतिका बारेमा धारणा राखेकी थिइन्।