काठमाडौं- नेपाल टेलिकमले डेटाको शुल्क घटाउने तयारी गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिएकी हुन्।
ब्यान्डविथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको स्पष्ट पारिन्। तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो। नायव प्रबन्ध निर्देशक पहाडीले वायरलेस डेटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनु परेको बताइन्।
कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेस डेटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले त्यसलाई महंगो भन्न नमिल्ने तर्क गरिन्।
‘यसको मूल्य चाँहि घट्दैछ। यो महंगो छ भन्न त नमिल्ला। प्याकेजमा नलिएको हुनाले महंगो भनिएको हो कि? नत्र भने मलाई लाग्छ– यो वायरलेस डेटाको कष्ट चाँहि १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ,' नायव प्रबन्ध निर्देशक पहाडीले भनिन्, 'यो कोभिडको कारणले गर्दा सरकारबाट नै यसको रेट घटाउन निर्देशन दिइएको थियो। त्यसकारण पनि यो डेटाको कष्ट धेरै घटाएका छौं। यता, ब्यान्डविथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर्न गएको हो। सरोकारवालाहरुले सुझाव दिए यसमा पनि विचार गर्न सकिन्छ।’
नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घट्ने बित्तिकै डेटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ।