बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • देशकै दोस्रो ठूलो सबस्टेसन सञ्चालनमा, शनिबार उद्घाटन गर्न जाँदै प्रधानमन्त्री

देशकै दोस्रो ठूलो सबस्टेसन सञ्चालनमा, शनिबार उद्घाटन गर्न जाँदै प्रधानमन्त्री

सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेसन आगामी शनिबार उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
 |  शुक्रबार, चैत ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ४, २०७८

काठमाडौं- जलविद्युतका लागि प्रसारण लाइन र सबस्टेसनको आवश्यकता पनि उतिकै हुन्छ। प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेसन भएर तपाईँ हाम्रो घर–घर र उद्योग कारखानासम्म आइपुग्छ। 

देशभित्र हाल ४०० केभी क्षमताको ढल्केबर सबस्टेसन निर्माणपछि सञ्चालनमा आइसकेको छ। सोही क्रममा देशकै अर्को दोस्रो ठूलो सबस्टेसन आगामी शनिबार उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।

सो सबस्टेसनलाई प्राधिकरणले न्यूखिम्ती नाम दिएको छ। रामेछापको मन्थली नगरपालिका–१३ देवीटारमा निर्माण भएको सबस्टेसनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ। सोही सबस्टेसन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौँ जोडिएको छ। सबस्टेसनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ । सो सबस्टेसनबाट धनुषाको ढल्केबरमा बिजुली प्रवाह भइरहेको छ।

ढल्केबरपछिको यो दोसो ठूलो सबस्टेसन भएको प्राधिकरणको भनाइ छ।  प्राधिकरणका अनुसार ढल्केबरमा १३२, २२० र ४०० केभी क्षमताका तीनवटा सबस्टेसन सञ्चालनमा छन्। न्यूखिम्ती सबस्टेसनका इलेक्ट्रिकल इञ्जीनियर प्रदीप दाहालका अनुसार शनिबार प्रधानमन्त्रीबाट हुने उद्घाटनको कार्यक्रमको तयारी पूरा भएको छ। विसं २०७५ देखि निर्माण सुरु भएको सो सबस्टेसन गत असारमा निर्माण सम्पन्न भएको हो। सुरुआती लागत रु एक अर्ब ५० करोड बराबर भएपछि प्राकृतिक विपत्ति, कोरोना त्रासलगायतका अन्य कारणले गर्दा थप केही ‘भेरियसन’ भएको छ।

नयाँखिम्ती सबस्टेसनमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली जोडिएको छ। यस्तै ५२.४ मेगावाट क्षमताको लिखु दोस्रो र २४.१ मेगावाट क्षमताको लिखु ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोडिएको छ। यस्तै गर्ज्याङ हाइड्रोपावर, खिम्ती–२ को बिजुलीसमेत सोही सबस्टेसनमा जोडिनेछ। हालको क्षमताअनुसार सो सबस्टशेनमा कूल ९०० मेगावाट बराबर बिजुली जोड्न सकिने फोरम्यान सिभिल विश्वासकुमार भण्डारीले जानकारी दिए। 

रामेछाप, दोलखालगायतका जिल्लामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको बिजुली जोडिने भएकाले सो सबस्टेसन प्राधिकरणको भाषामा हब सबस्टेसनका रूपमा विकास हुनेछ। गत साउनको अन्तिम साता सो सबस्टेसन चार्ज गरिएको थियो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोसीको बिजुली देशभर उपलब्ध गराउनका लागि महत्वपूर्ण मानिएको सो सबस्टेसनको सञ्चालनपछि बिजुली प्रवाहमा थप सहजता उत्पन्न हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ। माथिल्लो तामाकोसीको झण्डै एक अर्ब युनिट बिजुली सोही सबस्टेसन भएर प्रवाह भइसकेको छ। सबस्टेसनमा चारवटा पावर ट्रान्सफर्मर जडान भएका छन्। जडान भएका ट्रान्सफर्मरमध्ये तीनवटा नियमित सञ्चालनमा ल्याइने र एउटा भने जगेडामा रहनेछ।

सरकारको विशेष चासोका साथ मार्गदर्शन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियमित अनुगमनपछि आयोजना सम्पन्न भएको न्यूखिम्ती सबस्टेसनका कर्मचारीको भनाइ छ। 

'काम सम्पन्न हुँदा असाध्यै खुसी लागेको छ। प्रधानमन्त्रीले नै उद्घाटन गर्न लाग्नुभएकाले हामीले गरेको कामप्रति अझै गौरवको महसुस भएको छ,' इलेक्ट्रिकल इञ्जीनियर दाहालले भने।

सिभिल फोरम्यान भण्डारीले पनि लामो मेहेनतपछि आयोजना सम्पन्न हुँदा प्राधिकरणका सबै कर्मचारीले गौरवको महसुस गरेको बताए। केही दिनअघि मात्रै ऊर्जामन्त्री पम्फा भुसालले सर्लाहीको लालबन्दीमा निर्माण सम्पन्न भएको १२२/३३ केभी सबस्टेसनको उद्घाटन गरेकी थिइन्। मन्त्री भुसालले बिहीबार न्यू बुटवल–बर्दघाट २२०/१३२ केभी सबस्टेसनको उद्घाटन गरेकी छन्।यसबाट पनि वर्तमान सरकारले ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान र चासो दिएको स्पष्ट हुन जाने ऊर्जा मन्त्रालयको भनाइ छ।

प्रकाशित: Mar 18, 2022| 04:05 शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्