इनरुवा- नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको बुधबार निरीक्षण गरेका छन्। सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएर रहेको नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गरेका हुन्।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको र निर्वाचन नजिकिँदै गएको बेलामा त्यसलाई मध्यनजर गर्दै भोक्राहानरसिंह, हरिनगर र बर्जु गाउँपालिकासँग जोडिएर रहेको नेपाल भारतको सीमा क्षेत्रको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदले जानकारी दिए।
पूर्वतर्फको पहिलो पिलर नं १८२ देखि १९५ नम्बरसम्मको मूल तथा सहायक पिलरको निरीक्षण गरेको प्रजिअ यादवले जानकारी दिए। स्थानीय तहको निर्वाचन, सीमाबाट हुने चोरी तस्करी, सीमास्तभको अवस्था, होली पर्वको बेलामा हुने मदिराको तस्करीलगायतका विषयमा जानकारी र नियन्त्रण गर्ने उद्देश्यले सीमा क्षेत्रको निरीक्षण गरिएको प्रजिअ यादवले जानकारी दिए।
तीन नाल भरुवा बन्दुकसहित दुई पक्राउ
सुनसरीको सिमरवनस्थित जनजागृति सामुदायिक वनबाट तीन नाल भरुवा बन्दुकसहित पक्राउ परेका दुई जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा बराहक्षेत्र–५ का ३६ वर्षीय पवनलाल माझी र बराहक्षेत्र–३ देवीथानका २७ वर्षीय मोहन श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
विशेष सूचनाका आधारमा प्रहरीचौकी भरोलबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसिरहेका माझी र श्रेष्ठलाई लोड भएको तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। भरुवा बन्दुकसहित पक्राउ परेका दुवै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।