काठमाडौं- भारतको इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आईओसीले बुधबार इन्धनको नयाँ मूल्य पठाएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ।
निगमका अनुसार पेट्रोल प्रतिलिटरमा १६ रुपैयाँ ३७ पैसा, डिजेल प्रतिलिटरमा २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ८९ रुपैयाँ मूल्य बढेर आएको छ। युक्रेन र रुसबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले त्यसको असर स्थानीय बजारमा पर्न गएको हो।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर रूपमा मूल्य बढेको र सरकारले इन्धनमा विभिन्न शीर्षकमा लगाएको उच्च करका कारण इन्धनको मूल्य बढ्दा त्यसको मार उपभोक्तालाई परेको छ। भारतले पठाएको नयाँ मूल्यमा ढुवानी खर्च र कर जोड्दा अब एक लिटर पेट्रोलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा पुग्ने नेपाल आयल निगमले जनाएको छ।
व्यापार विज्ञ पुरुषोत्तम ओझा लगातार मूल्य बढ्दा उपभोक्ता मारमा पर्ने भएकाले इन्धनमा लगाएको कर हटाउनुपर्ने बताउँछन्।
नयाँ मूल्य बढेर आएसँगै पेट्रोल खरिद लागत मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टीतेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर दुई हजार २४० रुपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ। मूल्य बढेर आएकाले १५ दिनमा ५ अर्ब ३० करोड रुपैयाँ घाटा भएको निगमको भनाइ छ। निगमका प्रवक्ता वीनितमणि उपाध्यायले मूल्य बढेर आएकाले निगमको मासिक घाटा १० अर्ब पुगेको बताए।